जिल्ला सहकारी संघ काभ्रेपलाञ्चोकले जिल्लामा रहेका सबै प्रकृतिका सहकारी संस्थाहरुको कोपोमिस प्रणालीमा आवद्धता हुन भेला गरेको छ । भेला आयोजना गर्न सहकारी विभागले जिल्ला सहकारी संघ लि., काभ्रेपलाञ्चोकलाई पत्राचार गरेको थियो ।
संघीय सहकारी विभाग कोपोमिस विभागका अधिकृत प्रेम शर्माको उपस्थितीमा सहभागीहरुलाई व्यवहारिक अभ्यासको सिकाई सम्वन्धि प्रशिक्षण गरिएको हो । सहकारी बिभागले कोपोमिस प्रणालीमा आबद्धता नभएमा आउने आर्थिक बर्षमा सहकारी संस्थाहरुलाई करचुक्ता प्रमाण पत्र नदिने सूचना जारी भए पछि अभियानको तर्फबाट जिल्ला सहकारी संघ लि.ले जिल्लामा रहेका सहकारी संस्थाहरुका लागि कार्यक्रमको आयोजना गरिएको हो ।
अभियानको रुपमा नेपालमै छाता संघहरुको तर्फबाट एकै स्थानमा सहभागिहरुलाई राखेर कार्यक्रम आयोजना गरेको सम्भवत जिल्ला सहकारी संघले पहिलो पटक नै हो जिल्ला सहकारी संघ लि.का अध्यक्ष दिलिप शर्माले विचार व्यक्त गरे । यस्ता तालिम तथा प्रशिक्षणले अभियानलाई सिकाउने र टिकाउने उनको भनाई थियो ।
कार्यक्रममा जिल्लाका अधिकांश पालिकाहरुबाट ७३ जना सहभागिहरुको उपस्थिति रहेको थियो । सहभागिहरुले कार्यक्रम निकै उपलब्धिमूलक रहेको बिचार राखेका थिए । उक्त तालिम जिल्ला सहकारी संघ लि. का सञ्चालक समिति सदस्य तथा शिक्षा तालिम व्यवस्थापन उप समितिका संयोजक ठाकुरनाथ अधिकारीको अध्यक्षतामा भएको थियो ।
प्रशिक्षक प्रेम शर्माले कोपोमिसको आवश्यकता यसको महत्व र विभागले यसमा थालेको पहल र सकारात्मक पक्षहरुका बारेमा प्रशिक्षण दिएका थिए ।
कार्यक्रममा संघका अध्यक्ष शर्माले कार्यक्रमको उपादेयताबारे प्रकाश पार्दै सहभागीहरुलाई स्वागत गरेका थिए भने कार्यक्रम सञ्चालन संघका प्रमुख प्रबन्धक ज्ञानमणि न्यौपानेले र धन्यवाद ज्ञानेन्द्र दाहालले गरेका थिए ।