बुधबार, भाद्र ३ गते २०८३

सूर्या लाईफ र ज्योति लाईफ मर्जपछि यस्तो बन्नेछ कम्पनी

आषाढ १३, २०७९ सोमबार
सूर्या लाईफ र ज्योति लाईफ मर्जपछि यस्तो बन्नेछ कम्पनी

 

सूर्या लाइफ इन्स्योरेन्स कम्पनी र ज्योति लाइफ इन्स्योरेन्स कम्पनीबीच मर्जरको सम्झौता भएको छ । सम्झौतासँगै नेपाल स्टक एक्सचेञ्जमा ती कम्पनीको शेयर कारोबार रोक्का भएको छ । 

आइतबार भएको मर्जरसम्बन्धी सम्झौतापत्रमा सूर्या लाइफ इन्स्योरेन्सको तर्फबाट अध्यक्ष केशव प्रसाद भट्टराई र ज्योति लाइफको तर्फबाट अध्यक्ष नन्द किशोर शर्माले हस्ताक्षर गरेका थिए ।

बीमा समितिले पुँजी वृद्धि गर्न निर्देशन दिएसँगै कम्पनीहरूले एक आपसमा गाभ्नेरगाभिने निर्णय लिन थालेका हुन् । एकै व्यक्ति वा समूहको दुई ठाउँमा सेयर भएको (क्रस होल्डिङ) बीमा कम्पनीहरूलाई मर्जरमा जान दबाब दिने रणनीति बीमा समितिले बनाएको छ ।

क्रस होल्डिङ भएका कम्पनीमध्ये सूर्या र ज्योति लाइफ पनि हुन् । समितिले क्रस होल्डिङलाई हटाउनु पर्ने र नहटाए मर्जरमा जान आदेश दिनसक्ने गरी निर्देशन जारी गरेको थियो ।

चुक्ता पुँजी वृद्धि गरी बीमकहरूको संख्या घटाउने, पुँजीको आधार बलियो बनाउने, स्वस्थ प्रतिस्पर्धात्मक वातावरणमा व्यवसाय गर्ने र नियामक निकायको सुपरीवेक्षण क्षमता बढाउन यो मर्जरले सघाउ पुग्ने कम्पनीहरूले बताएका छन् । र, मर्जर सम्पन्न भए पश्चात कम्पनीका सेयरधनी, बीमित, अभिकर्ता, कर्मचारी लगायत सम्बन्धीत सबै पक्षलाई लाभ हुने विश्वास दुबै कम्पनीहरूले लिएका छ ।

सूर्या लाइफ र ज्योति लाइफ इन्स्योरेन्स यदि एक बराबर एकको अनुपातमा गाभिने हो भने नयाँ बन्ने कम्पनीको संयुक्त चुक्ता पुँजी करिब ५ अर्ब रूपैयाँ पुग्ने छ । 

मर्जरपछि बन्ने नयाँ कम्पनीको जीवन बीमा कोषको आकार १९ अर्ब १ करोड ७७ लाख १५ हजार रूपैयाँ पुग्ने छ । यी कम्पनी एक आपसमा गाभिएपछि नयाँ बन्ने कम्पनीको जगेडा कोषको आकार २ अर्ब १४ करोड ६४ लाख ८२ हजार रूपैयाँ पुग्ने छ ।