शनिबार, आश्विन १७ गते २०८३

श्रीलंकाको अर्थतन्त्र कोल्याप्स भएको प्रधानमन्त्री रनिल विक्रमासिंघेको घोषणा

आषाढ ९, २०७९ बिहीबार
श्रीलंकाको अर्थतन्त्र कोल्याप्स भएको प्रधानमन्त्री रनिल विक्रमासिंघेको घोषणा

 

श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रेमासिंघेले श्रीलंकाको अर्थतन्त्र अब टाट पल्टिएको घोषणा गरेका छन् । प्रधानमन्त्री विक्रेमासिंघेले बुधबार संसदलाई सम्बोधन गर्दै श्रीलंका आर्थिक रुपमा टाट पल्टेर अर्थतन्त्र नै कोल्याप्स भएको जनाएका हुन् ।

उनले भने, ‘अहिले हाम्रो अर्थतन्त्र गभ्भीर छ, हामी ठूलो चुनौति सामाना गरिरहेका छौं, अब हामीलाई विदेशबाट वस्तु आयात गर्नको लागि विदेशी मुद्राको सञ्चिति पनि छैन, हाम्रो अर्थतन्त्र टाट पल्टिएको छ ।’ 

उनले श्रीलंकामाथि रहेको ऋणको भारी सबैभन्दा ठूलो बोझ भएको बताएका छन् भने पर्यटनबाट हुने आम्दानी पनि शुन्यमा झरेको धारणा राखेका छन्  ।

यस्तै, उनले श्रीलङ्काले जुलाईको अन्त्यसम्ममा आईएमएफ कर्जा प्याकेजलाई अन्तिम रूप दिने बताएका छन् । उनका अनुसार आईएमएफसँग पहिलो पटक प्रत्यक्ष सम्बाद सोमबारबाट सुरु भएको र अब १० दिनसम्म चल्ने बताएका छन् ।

‘श्रीलङ्काका लागि एक मात्र सुरक्षित विकल्प भनेको अन्तर्राष्ट्रिय मुद्रा कोषसँग छलफल गर्नु हो,  साँच्चै भन्ने हो भने यो हाम्रो एक मात्र विकल्प हो, हामीले यो बाटो अपनाउनु पर्छ,’ उनले भने ।

श्रीलंका अहिले अत्यन्त गम्भीर आर्थिक संकटबाट गुज्रिरहेको छ । अहिले आर्थिक संकटका कारण महँगीले सर्वत्र असर गरेको छ । श्रीलंकासँग अहिले अत्यन्तै आवश्यक पर्ने सामानहरु आयात गर्नको लागि पनि विदेशी मुद्रा सञ्चित रहेको छैन । श्रीलंकाले विदेशी मुद्रा भण्डार बढाउनको लागि आयातमा प्रतिबन्ध लगाएकोले देशभित्र चिनी र इन्धन जस्ता अत्यावश्यक सामानको कमी आएको थियो । लंकाले आफ्नो विदेशी मुद्रा सञ्चिति बढाउनका लागि बाहिरी सहयोग मागिरहेको छ ।