शनिबार, कार्तिक ८ गते २०८३

प्रदेश १ मा सहकारीप्रतिको आकर्षण बढ्यो

आषाढ ८, २०७९ बुधबार
प्रदेश १ मा सहकारीप्रतिको आकर्षण बढ्यो

 

प्रदेश नं १ मा सहकारी संस्थाहरुप्रतिको आकर्षण बढेको छ । बैंक तथा वित्तीय संस्थाको तुलनामा निक्षेपमा बढी व्याज पाइने, कर्जा लिने प्रक्रिया छोटो तथा कम झन्झटिलो हुने भएकाले बचत गर्न तथा ऋण लिन सहकारीमा सर्वसाधारणको आकर्षण बढेको हो । नेपाल राष्ट्र बैंकले प्रदेश १ मा गरेको ‘प्रादेशिक आर्थिक गतिविधि अध्ययन’ ले सो कुरा देखाएको हो । 

सहकारी संस्थाहरुको कुल पुँजी २३ प्रतिशतले वृद्धि भएको छ । बैंकले प्रदेश सहकारी रजिष्ट्रार कार्यालयमा दर्ता भएका बचत तथा ऋण सहकारी संस्थामध्ये ऋण लगानीका आधारमा नमुना छनौट गरिएका १० वटा ठुला बचत तथा ऋण सहकारी संस्थाबाट प्राप्त विवरण संकलन गरेको थियो । 

जस अनुसार अघिल्लो पुस मसान्तको तुलनामा २०७८ पुस मसान्तमा सहकारी संस्थाको कुल पुँजी २३.० प्रतिशतले बढेको छ । अघिल्लो आ.व.को ६ महिनमा सहकारीको पुँजी १४.३ प्रतिशतले वृद्धि भएको थियो । २०७८ पुस मसान्तमा सहकारीको कुल बचत २४.९ प्रतिशत र कुल कर्जा ४९.५ प्रतिशतले बढेको छ । २०७७ पुस मसान्तमा सहकारीको बचत ३२.० प्रतिशत र कर्जा २१.२ प्रतिशतले बढेको थियो ।

त्यसैगरी सहकारी संस्थाको सदस्यको संख्या १६.७ प्रतिशत र कर्मचारीे संख्या २३.१ प्रतिशतले बढेको छ । अघिल्लो आ.व. मा सहकारी संस्थाको सदस्य संख्या ११.९ प्रतिशत र कर्मचारी संख्या १९.६ प्रतिशतले बढेको थियो ।