चालु आर्थिक वर्ष पहिलो ६ महिनामा प्रदेश नं १ मा रहेको उद्योगहरुको औसत क्षमतामा ह्रास आएको छ । गत वर्षको सोही अवधिमा उक्त उद्योगहरुको औसत क्षमता उपयोग ५३.५ प्रतिशत रहेको मा चालु आव आर्थिक वर्ष २०७८/७९ को पुष मसान्तसम्म ४८.९ प्रतिशत रहेको छ । नेपाल राष्ट्र बैंक विराटनगर शाखाले प्रकाशन गरेको प्रादेशिक आर्थिक गतिविधि अध्ययनमा समेटिएका उद्योगहरुमध्ये बनस्पति घिउ र तेल, तयारी कपडा, साबुन, जि.आई तार, चिनी, घरेलु धातुका सामान जस्ता वस्तुहरु उत्पादन गर्ने उद्योगको क्षमता उपयोगमा कमी आएकाले उद्योगको औसत क्षमता उपयोगमा केही कमी आएको देखिन्छ ।
कोभिड–१९ अवधिभर आयात प्रवाहित भई आन्तरिक उत्पादन बढेतापनि कोभिड–१९ को प्रभाव न्यून भएसँगै आयातमा भएको सहजताले आन्तरिक उत्पादन प्रभावित हुन गई उद्योगको औसत क्षमता उपयोगमा कमी आएको देखिन्छ । गत वर्षको पहिलो ६ महिनाको तुलनामा समीक्षा अवधिमा यस अध्ययनमा समेटिएका उद्योगहरुमध्ये इँटा उद्योगको क्षमता उपयोग सबैभन्दा बढी ९३.५ प्रतिशत रहेको छ भने वनस्पती घिउ उत्पादन गर्ने उद्योगको क्षमता उपयोग सबैभन्दा कम ६.९ प्रतिशत रहेको छ ।
गत वर्षको पहिलो ६ महिनाको तुलनामा समीक्षा अवधिमा यस अध्ययनमा समेटिएका औद्योगिक उत्पादनमध्ये भटमासको तेल उत्पादन सबैभन्दा बढी २१८.१ प्रतिशतले बढेको छ भने चिनीको उत्पादन सबैभन्दा बढी ६४.४ प्रतिशतले घटेको छ । वनस्पति घिउ उत्पादन गर्ने उद्योगहरु पामतेल तथा भटमासको तेल उत्पादनमा रुपान्तरण भएको तथा भारतीय बजारमा भटमासको तेलको माग अत्याधिक भएका कारण भटमासको तेल उत्पादन वृद्धि भएको देखिन्छ । उखु उत्पादन गर्ने समयमा बर्षा अत्याधिक भएकाले उखुको गुणस्तरमा कमी आई चिनी उत्पादन घटेको देखिन्छ ।
२०७८ असार मसान्तको तुलनामा २०७८ पुसमसान्तमा यस प्रदेशका बैंक तथा वित्तीय संस्थाले औद्योेगिक क्षेत्रमा प्र्रवाह गरेको कर्जा ०.५ प्रतिशतले घटेर रु. १ खर्र्ब ४४ अर्ब भएको छ । २०७८ पुस मसान्तसम्म यस प्रदेशका बैंक तथा वित्तीय संस्थाबाट प्रवाहित कुल कर्जामध्ये औद्योगिक क्षेत्रमा प्रवाहित कर्जाको अंश २६.५ प्रतिशत रहेको छ ।
सेवा क्षेत्रतर्फ पहिलो ६ महिनाको तुलनामा समीक्षा अवधिमा वाह्य पर्यटक आगमनको संख्या १२२.० प्रतिशतले बढेको छ । गत वर्षको सोही अवधिमा वाह्य पर्यटक आगमनको संख्या ७६.७ प्रतिशतले घटेको थियो । कोरोना महामारीको प्रभाव कम भएसँगै विदेशी पर्यटकलाई आकर्षित गर्नका लागि अनअराइभल भिसामा दिएको छुट तथा अन्य सुविधाका कारण पर्यटकको आगमनमा वृद्धि भएको देखिन्छ ।
यस अवधिमा प्रदेशका बैंक तथा वित्तीय संस्थाका थप १०३ वटा शाखा विस्तार भएका छन् । ७८ पुस मसान्तसम्म बैंक तथा वित्तीय संस्थाले परिचालन गरेको निक्षेप १.४ प्रतिशतले वृद्धि भई रु.३ खर्ब ५१ अर्ब पुगेको छ । कर्जा १३.४ प्रतिशतले वृद्धि भई रु.५ खर्ब ४५ अर्ब पुगेको छ । प्रदेश नं. १ को कर्जा निक्षेप–अनुपात १५५.२ प्रतिशत रहेको छ । कुल कर्जामध्ये सेवा क्षेत्रमा प्रवाहित कर्जाको अंश सबैभन्दा बढी ६४.० प्रतिशत रहेको छ ।
प्रदेशमा राष्ट्रिय तथा सहायक राजमार्ग गरी थप ४५६.५ किलोमिटर सडक विस्तार भई कुल सडक सञ्जाल ६,२१२.२ किलोमिटर पुगेको छ । यस अवधिमा कोशी करिडोर अन्तर्गतको ईनरुवा—बसन्तपूर—बानेश्वर—तुम्लिङटार २२० के.भी. प्रसारण लाइन आयोजना निर्माण सम्पन्न भएको छ ।
प्रदेश नं. १ अन्तर्गतका १४ जिल्लाहरुको स्थलगत तथा गैरस्थलगत भ्रमण गरी प्रथम अर्ध–वार्षिक अध्ययन प्रतिवेदन प्रकाशित गरेको हो ।