शनिबार, आश्विन १७ गते २०८३

पेट्रोलियम पदार्थको मूल्यवृद्धि सरकारकाे अकर्मण्यता, मुल्य नघटाए आन्दोलन

आषाढ ७, २०७९ मंगलबार
पेट्रोलियम पदार्थको मूल्यवृद्धि सरकारकाे अकर्मण्यता, मुल्य नघटाए आन्दोलन

 

पेट्रोलियम पदार्थको अत्याधिक मूल्यवृद्धि गरेको भन्दै विभिन्न सरोकारवाला पक्षले विरोध जनाएका छन् । उनीहरुले तत्काल सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिनुपर्ने पनि माग गरेका छन् । 

रिपोर्टर्स क्लब नेपाल मुल्यवृद्धिले पारेको असर बारे बोल्दै विद्यार्थी संगठनका नेताहरु, यातायात व्यवसायी र उपभोक्ता अधिकारकर्मीहरुले सरकारले जनतालाई मार्नेगरि पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेको भन्दै विरोध जनाएका हुन् । उनीहरुले तत्काल मूल्यवृद्धि फिर्ता नलिए आन्दोलनमा उत्रिने पनि चेतावनी दिएका छन् । 

साक्षात्कारमा बोल्दै यातायात व्यवसायी राष्ट्रिय महासंघका केन्द्रीय अध्यक्ष विजय स्वाँरले पेट्रोलियम पदार्थको मुल्यवृद्धिले सार्वजनिक यातायात चल्न नसक्ने अवस्थामा पुगेको टिप्पणी गरे । उनले आफुहरु गाडी व्यवसायीमात्र नभएर त्योभन्दा पहिला नागरिक भएको बताउँदै पेट्रोलियम पदार्थको मुल्यवृद्धिले सार्वजनिक यातायातमा धेरै नै असर गरेको गुनासो पोखे ।   

उनले भने,‘पैसा हुनेहरु आ–आफ्नै सवारीसाधनमा चढ्छन्, तर विद्यार्थी र न्युन आय भएकाहरु सार्वजनिक यातायातमा चढ्नुपर्ने बाध्यता छ । विद्यार्थी र ती सामान्य नागरिकको लागि सरकारले राहतको प्याकेज ल्याउनुपर्छ ।’

विश्वभर सार्वजनिक यातायातमा सरकारको लगानी हुने भन्दै नेपालमा भने सरकारको तर्फबाट कुनै लगानी नभएको उनको टिप्पणी छ । उनले नयाँ गाडी आयात हुने अवस्था नभएको र पुरानो गाडी पनि चलाउन नसक्ने  अवस्थामा व्यवसायी पुगेको टिप्पणी गरे । गाडी भाडाभन्दा पनि सर्वत्र मुल्यवृद्धिले नागरिकको जीवनयापनमा समस्या भएको उनको गुनासो छ । 

त्यस्तै, राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले आफूले विगत ४० वर्षदेखि उपभोक्ता अधिकारकै क्षेत्रमा निरन्तर काम गरेको उल्लेख गर्दै पछिल्लो समयमा बढेको महँगी सबैभन्दा बढि भएको दाबी गरेका छन् । विद्यार्थीहरुले गर्दै आएको आन्दोलन आजसम्म राजनीतिक फाइदाको लागिमात्र भएको उनको टिप्पणी छ । 

यसअघि २०७६ सालमा विश्वभरनै पेट्रोलियम पदार्थको मुल्य धेरै नै घटेको स्मरण गर्दै नेपालमा भने त्यतिवेला मूल्य नघटाईएको उनले स्मरण गराए । उनले त्यतिवेला नेपालका कुनैपनि विद्यार्थी संगठनले आन्दोलन वा विरोध नगरेको पनि दाबी गरे । 

उनले पेट्रोलियम पदार्थको मुल्यवृद्धि युक्रेनको कारण नभइ सरकारको कारणले भएको आरोप लगाए । उनले भने,‘सरकारको निकम्मापन र अदुरदर्शिता नीतिले गर्दा आज पेट्रोलियम पदार्थको मुल्य बृद्धि भएको हो ।’ उनले विश्वमै सबैभन्दा बढी पेट्रोलियम पदार्थमा कर र शुल्क लिने देश नेपाल भएकोसमेत टिप्पणी गरे । उनले भने,‘१ लिटर पेट्रोलियम पदार्थमा १०४ प्रतिशतसम्म कर असुल्दा पनि कुनै राजनीतिक दल र कुनै पनि भातृ संगठनले बोल्न सक्दैनन् ।’ 

यातायात व्यवसायीले आज नै भाडा बढाएर खुशी भएको भन्दै उनले जिविका गरेर खाने जनतालाई मुल्यवृद्धिमा समस्या सुरु भएको बताए । नेपालमा पछिल्लो समयमा रोजगारीको समस्या र आम्दानी कमी भईरहेको तर महंगी बढ्दै गएकोमा उनले चिन्ता व्यक्त गरे ।  

कमाईको आम्दानी नबढेको अवस्थामा गाडी भाडा बढेपछि सामान्य नागरिक समस्यामा परेको उनको बुझाई छ । पेट्रोलियम पदार्थको मुल्य बढेपछि सबैको मुल्य बढ्ने उनले तर्क गरे । उनले अहिले दुईचार जना व्यापारिक घरानाले देशलाई नै आफ्नो हातमा लिएको टिप्पणी गरे । व्यापारीकै कारण राजनीतिमा लामो त्याग र तपस्या गरेकाहरुलाई सम्मान नगरेर दलहरुले अहिले पैसा हुनेलाई प्रश्रय दिएको र लाभको पदमा पुर्याएको पनि उनले गुनासो पोखे । पैसाकै कारण व्यापारीहरुले सरकारको मुखमा बुझो लगाइदिएको उनले जिकिर गरे । 

भारतले आफ्ना नागरिकलाई आपुर्ति व्यवस्था सहज गर्न भन्सार महसुल मिनाहा गरेको स्मरण गराउँदै नेपाल सरकारले भने अहिलेसम्म त्यसो गर्न नसकेकोमा आपक्ति जनाए । सरकार व्यापारिक घरानाको पोल्टामा परेको हुनाले जनता अत्यन्तै दमित÷शोषित भएको उनको भनाई छ । 

पेट्रोलियम पदार्थको मुल्यवृद्धि विरुद्धको विद्यार्थीहरुको आन्दोलनमा आफूहरुको कुनै सहभागिता नरहने पनि उनले स्पष्ट पारे । विद्यार्थीहरुले आफ्नो राजनीतिक स्वार्थ र दुनो सोझ्याउनको लागिमात्रै आन्दोलनको नाटक गरेको उनको आरोप छ । जनताले अहिले भोगेका समस्या र उनीहरुको पीडाको आवाज सरकारले नसुने अब नेपालको हालत पनि श्रीलंकाजस्तै बन्ने उनको चेतावनी छ । 

नेकपा ९माओवादी केन्द्र० निकट विद्यार्थी संगठन अनेरास्ववियू ९क्रान्तिकारी० का  केन्द्रीय उपाध्यक्ष नरेश रेग्मीले पेट्रोलियम पदार्थको मुल्य बढ्दा जनताको जीवनमा प्रत्यक्ष असर परेको बताए । पेट्रोलियम पदार्थको चर्को मुल्यवृद्धिले जनता आत्तिएको भन्दै उनले यसले देशमा आर्थिक संकट आएको समेत टिप्पणी गरे । 

अन्तर्राष्ट्रिय पेट्रोलियप पदार्थको मूल्यवृद्धिलाई समायोजन गरेको भन्दै सरकार पेट्रोलियम पदार्थको मूल्यवृद्धिबाट उम्किन नपाउने जिकिर गर्दै रेग्मीले सरकारले केही कर हटाएर भएपनि पेट्रोलियम पदार्थको मुल्यवृद्धि तत्काल घटाउनुपर्ने बताए । 

पेट्रोलियम पदार्थको मुल्यवृद्धि अन्तर्राष्ट्रियस्तरमै बढिरहेको भन्दै उनले सरकारले विभिन्न कर घटाएर भएपनि जनतालाई राहत दिनुपर्ने बताए । 

उनले पेट्रोलियम पदार्थको मुल्यवृद्धिविरुद्ध अनेरास्वविय क्रान्तिकारी सडकमा आउनेपनि प्रतिवद्धता जाहेर गरे । उनले भने,‘जब जब पेट्रोलियम पदार्थलगायत सबै कुराको मुल्यवृद्धि हुन्छ, तब तब अनेरास्वविय क्रान्तिकारी सधैं जनता र विद्यार्थीको लागि सडकमा उत्रिन्छ ।’ 

पेट्रोलियम पदार्थको मुल्यवृद्धिविरुद्ध चाँडै नै आफ्नो संगठन सडकमा आउने उनको भनाई छ । उनले भने,‘अब हामी चाँडै आन्दोलनमा आउँछौ, सरकारलाई दबाब दिन्छौं । सबै सरकारमा सहभागी सबै दुलका शीर्ष नेताहरुलाई ध्यानाकर्षण गराउँछौ ।’ उनले सरकारलाई पेट्रोलको वैकल्पिक उर्जा, बिजुली र सोलारको विकल्पबारे पनि रचनात्मक सुझाव दिने उनले बताए । 

विद्यार्थी आन्दोलन जोशमा मात्र गरिने नभएको भन्दै उपाध्यक्ष रेग्मीले पेट्रोलियम पदार्थको मुल्यवृद्धि रोक्ने दीर्घकालिन समाधानका उपायबारे विद्यार्थीहरुले पनि सोचिरहेको सुनाए ।  

यसैगरी, अनेरास्ववियुका महासचिव समिप बडालले पेट्रोलियम पदार्थको मुल्यवृद्धिविरुद्ध आन्दोलन गर्ने बताए । तर, अहिले देशमा सरकार नै नभएको महसुस जनताले गरिरहेको पनि उनको टिप्पणी छ । 

उनले सरकार खोज्न पनि सडकमा आउने बताए । सरकारले जनताप्रति कुनै चासो नदिएको आरोप लगाउँदै उनले अब जनतालाई पेट्रोलियम पदार्थमासरकारले राहत दिनुपर्ने माग गरे । 

उनले अहिलेसम्म जनतालाई जगाउनकै निम्ति विद्यार्थीहरुले काम गर्दै आएको पनि स्मरण गराए ।  उनले भने,‘विगत १ महिनाभित्र ५९ रुपैयाँ इन्धनमा मुल्य बढेको  छ। इन्धनसँगै अन्य सामाग्रीको मुल्य पनि बढेको छ, सरकार जनताप्रति कत्तिपनि संवेदनशील र उत्तरदायी छैन् । जनताको कुरा नसुन्ने सरकार जनतालाई चाहिँदैन् ।’