सहकारी मुल्यमान्यता र सिध्दान्त विपरित अनुत्पादक क्षेत्रमा अत्यािधक लगानी गर्दा देउराली बहुउद्देश्यीय सहकारी संस्था आर्थिक संकटमा फसेको छ । सदस्यहरुबाट चर्को ब्याजमा पैसा बटुलेको उक्त सहकारीले घरजग्गा लगायतका अनुत्पादनक क्षेत्रमा लगानी गरेपछि अहिले सदस्यलाई ससानो बचत समेत फिर्ता गर्न नसक्ने अवस्थामा पुगेको छ ।
संस्थाले महँगो ब्याजमा बजारबाट बचत संकलन गर्ने र कम्पनीको तरिकाले जताततै लगानी गर्न थालेपछि केहि समयअघि सहकारी अभियानका अगुवाहरुले सञ्चालकहरु भेटी संयमित भएर संस्था चलाउन आग्रह गरेका थिए । तर अभियानको तर्फबाट दिइएको सल्लाहसुझावलाई समेत लत्याएर मनोमानी ढंगले संस्था सञ्चालन गर्दा हाल उक्त संस्था वित्तीय रुपमा धराशायी बन्न पुगेको हो ।
२०७१ सालमा बहुदेश्यीय सहकराी संस्थको रुपमा स्थापना भएपनि प्रमुख रुपमा बचत ऋणको कारोबार गर्दै आएको उक्त संस्थाले बीस हजार सदस्य र ३ अर्ब रुपैयाको हाराहारीमा कारोबार गरिरहेको थियो । मुख्य कार्यालय ललितपुर सहित काठमाण्डौको न्यूरोज र भक्तपुरको सूर्यविनायकमा सेवा केन्द्र खोेलेर सदस्यहरुबाट दैनिक, साप्ताहिक, मासिक, ३६५ दिने जस्ता विभिन्न स्किममा मार्फत सदस्यहरुबाट बचत संकलन गर्ने गरेको देखिएको छ ।
त्यसैगरी मुद्दती निक्षेपमा १ वर्षकै लागि १५.५० प्रतिशत देखि २०–२२ प्रतिशतसम्म ब्याज दिने गरेको पाइएको छ । सहकारी ऐनले १६ प्रतिशत भन्दा बढी ऋणको ब्याज लिन नपाउने व्यवस्था गरेको अवस्थामा उक्त संस्थाले अत्याधिक ब्याज दिएर सदस्यहरुलाई प्रलोभनमा पारेको पाइएको छ ।
ब्याजको लोभमा कतिपय सदस्यले करोडौं रुपैैया उक्त संस्थामा बचत गरेका छन् । संस्थाको वास्तविक अवस्था बुझ्नका लागि नेपालपत्रन्यूजका प्रतिनिधि संस्थाको मुख्य कार्यालयमा पुग्दा कार्यालय खुलेको भएपनि सञ्चालकहरु मिटिङमा रहेको भन्दै भेट्न दिइएन । कार्यालयमा बचतकर्ताहरु बचत फिर्ताका लागि आएपनि संस्थाले ९०० रुपैया समेत फिर्ता नदिएको भेटिएको छ । सदस्यहरुलाई आगामी सोमबारबाट बचत फिर्ता दिने आश्वासन दिन तल्लो तहका कर्मचारी खटाइएको छ । तर संस्थाले ठूलो रकम ललितपुरको लामाटार, लेले लगायतका क्षेत्रमा जग्गामा लगानी गरेका कारण तत्काल पैसा फिर्ता हुने न्यून रहेको बचतकर्ताले नै नेपालपत्रका प्रतिनिधिलाई जानकारी दिए ।
संस्थाका अध्यक्ष रविन्द्र चौलागाईं स्वयं आफ्नै डिष्टिलरी र पुजा सामग्रीको व्यवसायमा आवद्ध रहेका ती व्यवसायमा समेत संस्थाको पैसा दुरुपयोग भएको हुनसक्ने सदस्यहरुले शंका गरेका छन् ।
संस्थाको जग्गाजमिन भएपनि सरकारले हालै जारी गरेको भूउपयोग नीतिका कारण तत्काल कित्ताकाट गर्न सक्ने अवस्था रहेको छैन । अर्कोतर्फ अर्थतन्त्रमा मन्दी रहेको कारणले यस क्षेत्रमा मानिसको आर्कषण न्यून भएको छ । सरकारले कृषि र गैरकृषिजन्य जमीनको बर्गीकरण गरेर मात्रै प्लटिङ गर्न दिने भनेकाले यसले संस्थालाई झन् प्रभाव पार्ने देखिन्छ ।
सहकारी खडा गरी वित्तीय कारोबार गर्दै आएको भएपनि उक्त संस्थाका जिल्लाका कुनैपनि संघहरुमा आवद्ध नरहेको पाइएको छ । बहुउद्देश्यीय सहकारी संघ ललितपुरका अध्यक्ष शरदकुमार महर्जन संस्थामा समस्यामा आएपछि सञ्चलाकहरुसँग छलफलमा बसेको र कार्यालय बन्द नगर्द सुझाव दिएको बताए । आफुहरुले सकेको सहजिकरण गर्न प्रयास गर्ने बताएको भन्दै उनले समस्याबाट नभाग्न र सदस्यहरुलाई निरन्तर सम्पर्कमा रहन भनेको उनले जनाए ।
संस्थामा वित्तीय रुपमा अप्ठेरोमा परेको भन्दै उनले सदस्यहरुलाई तत्काल बचत फिर्ता दिन सक्ने नरहेपनि विभिन्न स्थानमा भौतिक सम्पत्ति रहेकाले काम गर्ने वातावरण भएमा केहि समयको अन्तरालमा समस्या सुल्झाउन सक्ने प्रारम्भिक छलफलबाट देखिएको महर्जनले बताए ।
संस्थाले कि व्याज दिएको र घरजग्गामा लगानी गरेको भन्ने सुनेपछि अभियानको तर्फबाट एकडेढ वर्ष अगाडि संस्थाका सञ्चालकहरुलाई सो विषयमा सचेत गराएको भएपनि सल्लाहलाई गहनरुपमा नलिँदा अहिले यो समस्या आएको उनले बताए ।
“अहिले सबै संघ र संस्थाहरुलाई तरलता चाप परेको अवस्थामा सदस्यको पैसा जथाभावी लगानी गर्ने संस्था अप्ठेरोमा नपर्ने कुरै भएन,” उनले थपे, “सदस्यबाट संकलन गरिएको पैसा जथाभावी लगानी गर्दाको परिणाम देखिएको हो ।”
संस्थाको वास्तविक अवस्था सञ्चालकहरुबाटै बुझ्नका लागि जिम्मेवार पदाधिकारीसँग सम्पर्क गर्न खोज्दा सबैको मोबाइल स्वीच अफ भएको र कार्यालयमा समेत भेट्न सकिएन ।