सहकारी संघ संस्थाले कोपोमिसमा आबद्ध भएपछि मात्रै करचुक्ताको प्रमाणपत्र पाउने भएका छन् । सहकारी विभागले एक सुचना जारी गर्दै आगामी आर्थिक बर्षदेखि करचुक्ताको प्रमाणपत्र पाउन कापोमिसमा अनिवार्य रुपमा आवद्ध हुनु पर्ने जनाएको छ ।
विभागका रजिष्ट्रार रुद्रप्रसाद पण्डितले सबै सहकारी संघसंस्थाले आफ्नो समष्टिगत विवरण अनिवार्य रुपमा इन्ट्रि गरिसकेपछि सोही प्रणालीमा स्वतः सिर्जना हुने दाखिला नम्बर सम्बन्धित राजश्व कार्यालयमा पेश भईसकेपछि मात्र करचुक्ताको प्रमाणपत्र दिने व्यवस्था गरिदिन आन्तरिक राजश्व विभाग लाजिम्पाटलाई आग्रह गरेका हुन् । सहकारीहरुले अनिवार्य रुपमा असार मसान्तसम्म कोपोमिसमा समष्टिगत तथ्यांक भरिसक्नु पर्नेछ ।
सहकारी विभागले आन्तरिक राजश्व विभागलाई पत्राचार गर्दै कोपोमिसमा सहकारीको सूचना अभिलेखीकरण गरेका संस्थाको मात्र करचुक्ता दिन अनुरोध गरेको हो । मुलुकमा विभिन्न प्रकृतिका ३० हजार सहकारी संस्था रहेको र यथार्थ तथ्याङ्कको अभावमा प्रभावकारी नीति,योजना र कार्यक्रम निर्माण गर्न समस्या भएको विभागले जनाएको छ । सहकारी विभागले सबै प्रदेश सहकारी रजिष्ट्रार, स्थानीय तह, सहकारी महासंघ, केन्द्रीय संघहरु, सहकारी बैंक, जिल्ला संघहरुलाई जेठ ९ गते नै सो विषयमा पत्राचार गरिसकेको थियो ।
