महाकाली बचत तथा ऋण सहकारी संस्थाको पहिलो साधारणसभा सम्पन्न भएको छ । कागेश्वरी मनहरा नगरपालिकामा दर्ता भइ सञ्चालित उक्त संस्थाले स्थापनाको छोटो अवधिमा नै उल्लेख्य प्रगति गर्न सकेको छ । साधारण सभामा अतिथि बोलाउने परम्परालाई तोड्दै संस्थाका अध्यक्ष बालकुमार बास्तोलाले नै सभाको उद्घाटन गरेका थिए ।
सभामा उपाध्यक्ष तिलकबहादुर खड्काले स्वागत मन्तब्य राखेका थिए । त्यसैगरी योजना आयोगका पूर्व सदस्य प्रा.डा. भीमप्रसाद न्यौपानेले शुभकामना मन्तब्य दिँदै आफु योजना आयोगमा रहँदा सहकारी क्षेत्रको विकास र प्रवद्र्धनका लागि भूमिका खेलेको उल्लेख गरे । महाकालीले छोटो समयमा सदस्यता र वित्तीय कारोबारका हिसाबले ठूलो प्रगति गरेको जनाउँदै सदस्यहरुलाई ढुक्क भएर कारोबार गर्न आग्रह गरे । सहकारी सदस्यका लागि भएकाले सदस्य र समुदायको हितलाई ध्यानमा राखी महाकाली साकोस अगाडि बढ्ने विश्वास उनले व्यक्त गरे ।
संस्थाका अध्यक्ष बाँस्तोलाले संस्थागत सुशासनलाई प्राथमिकतामा राखी सदस्यहरुको आर्थिक समृद्धि र सामाजिक उत्थानका लागि संस्था लागिपर्ने उल्लेख गरे । हाम्रो जस्तो समाजमा सहकारी अपरिहार्य रहेको भन्दै उनले सहज र सरल रुपमा वित्तीय तथा अन्य सेवा लिन सहकारी उपयुक्त माध्यम भएको सभामा बताए ।
‘संस्थाले पनि बचत तथा ऋणकै कारोबार गर्ने हो,’ उनले थपे, ‘तर त्यही कामलाई अन्य संस्थाहरुले भन्दा फरक तरिकाले गरी कागेश्वरीकै नमूना संस्था बनाउनेछौं ।’

संस्थाको कार्यक्षेत्र विस्तार गर्ने, नीति, विधि र प्रविधिमा संस्था सञ्चालन गर्ने , मर्जर अभियान चलाउने र संस्थामा वित्तीय अनुशासन कायम गरी सदस्यहरुलाई उचित प्रतिफल दिने योजना रहेको अध्यक्ष बाँस्तोलाले बताए ।
संस्थाले हालसम्म ४ करोड ८० लाख कुल कारोबार गरेको छ भने संस्थाको शेयर पुँजी ३ करोड २० लाख, बचत संकलन १ करोड ६० लाख तथा ऋण लगानी ४ करोड २२ लाख गरी १० लाख नाफा आर्जन गरेको छ । संस्थामा हालसम्म १४९ सदस्य आवद्ध रहेका छन्।
अध्यक्ष बाँस्तोलासँग यस अघि लामो समय विभिन्न प्रारम्भिक संस्थाहरुको कुशल व्यवस्थापना गरेको अनुभव रहेको छ । त्यसका साथै जिल्ला सहकारी संघ काठमाण्डौ लगायत सफल सहकारीहरुको नेतृत्वदायी तथा बैंक तथा वित्तीय क्षेत्रको अनुभवले महाकालीलाई सबल रुपमा अगाडि बढाउने टेवा पुग्ने विश्वास सदस्यहरुको छ ।
सहकारी संस्थाको उच्च व्यवस्थापनमा रहेका व्यक्ति, प्रोफेसर, डाक्टर, राष्ट्रसेवक कर्मचारी, युवा व्यवसायी, महिला उद्यमी श्रमजीवी पत्रकार लगायतको सहभागिता संस्थामा रहेको छ ।
बैक तथा वित्तीय संस्थाको र १५ बर्ष देखिको सहकारी क्षेत्रको अनुभलाई प्रयोग गर्दै आधुनिक प्रबिधि मार्फत समृद्द जिबनका लागि सहकारी भन्दै अगाडि बढ्ने र आवद्ध सदस्यहरुको आर्थिक सामाजिक र साँस्कृतिक सम्बृद्धि तर्फ लैजाने योजना रहेको बाँस्तोलाले जनाए ।