शनिबार, आश्विन १७ गते २०८३

३६४ मेगावाट विद्युत भारततर्फ दैनिक निर्यात हुँदै

जेठ २७, २०७९ शुक्रबार
३६४ मेगावाट विद्युत भारततर्फ दैनिक निर्यात हुँदै

 

नेपाल विद्युत प्राधिकरणले ३६४ मेगावाट विद्युत शुक्रबारबाट भारततर्फ निर्यात गर्न सुरु गरेको छ । गत जेठ १९ गतेबाट भारतीय ऊर्जा एक्सचेन्ज (आइएक्स) मार्केटमा प्रतिस्पर्धी दरमा बेच्न शुरु गरेको थियो । ३७.७ मेगावाटबाट निर्यात गर्न शुरु गरिएकोमा बढाएर जेठ २२ गतेदेखि १७७.७ मेगावाट विक्री हुन थालेको थियो । 

भारतको विद्युत मन्त्रालय अन्तर्गतको केन्द्रीय विद्युत प्राधिकरणले ६ वटा जलविद्युत आयोजनाबाट उत्पादित विद्युतलाई स्रोत मानी ३६४ मेगावाट विद्युत आइएक्स मार्केटमा बिक्री गर्न नेपाल विद्युत प्राधिकरणलाई स्वीकृति दिएको थियो ।

नेपाल–भारतबीच ऊर्जा क्षेत्रमा सहकार्य सम्बन्धी संयुक्त दृष्टिकोण पत्र जारी भए बमोजिम विद्युत प्राधिकरणले थप ४ जलविद्युतगृहबाट उत्पादित विद्युत भारतमा निर्यातका लागि स्वीकृति पाएको थियो । 

प्राधिकरणको स्वामित्वका ४ आयोजना त्रिशूली तथा देवीघाटको ३७.७ मेगावाट, कालीगण्डकी एको १४० मेगावाट, मध्य मरर्स्याङ्दीको ६८ मेगावाट, मर्स्याङ्दीको ६७ मेगावाट र निजी क्षेत्रको लिखु–४ बाट उत्पादित ५१ मेगावाट विद्युत दैनिक निर्यात भइरहेको छ । 

पानी परेसँगै नदीनालामा पानीको वहाव बढेर विद्युतगृहहरु पूर्ण क्षमतामा चल्न थालेपछि आन्तरिक रुपमा खपत गरी अतिरिक्त भएको विद्युत ढल्केबर–मुजफ्फपुर ४०० केभी अन्तरदेशीय प्रसारणलाइनमार्फत भारतीय बजारमा निर्यात भइरहेको भन्दै प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले निर्यातका लागि स्वीकृति पाएका सबै आयोजनाको विद्युत भारतीय बजारमा बिक्री हुन थाल्नु दुई मुलुकबीचको विद्युत व्यापारका लागि कोशेढुंगा भएको बताएका छन् । 

मुलुकभित्रको माग बाहेकको अतिरिक्त भएको सबै विद्युत निर्यात गरिरहेको र यसबाट मुलुकभित्र उत्पादित विद्युत बिक्री गर्न नसकी खेर फाल्नु पर्ने अवस्था तत्कालका लागि अन्त्य भएको घिसिङले जनाए । आगामी दिनमा थप विद्युत निर्यातको लागि स्वीकृतिका लागि भारतीय पक्षसँग निरन्तर छलफल गरिरहेको उनले जनाए ।