आइतबार, कार्तिक ९ गते २०८३

 महासंघ प्रतिनिधिले भेटे अर्थमन्त्री शर्मालाई, आयकर घटाउन माग 

जेठ २३, २०७९ सोमबार
 महासंघ प्रतिनिधिले भेटे अर्थमन्त्री शर्मालाई, आयकर घटाउन माग 


राष्ट्रिय सहकारी महासंघद्धारा सरकारले आगामी आर्थिक बर्षको बजेटमा सहकारीले तिर्नुपर्ने आयकरमा ५० प्रतिशतले बृद्धि गरेकोमा आपत्ति जनाएको छ ।

महासंघले अर्थमन्त्री जनार्दन शर्मालाई आज भेटी सहकारी ऐन, २०७४ अनुसार करको समायोजन गर्न जोडदार माग गरेको हो ।  सहकारी ऐन २०७४ बमोजिम दर्ता भएको सहकारी संस्थाले कर छुट हुने कारोबार बाहेकको कारोबार गरेमा नगरपालिका क्षेत्रभित्र संचालन भएकोमा ७.५ प्रतिशत, उपमहानगरपालिका क्षेत्रभित्र संचालन भएकोमा १० प्रतिशत र महानगरपालिका क्षेत्रभित्र संचालन भएकोमा १५ प्रतिशत कायम गरेको छ ।

यस अघि सहकारी ऐन २०७४ मा तोकिएकै आधारमा नगरपालिका क्षेत्रमा ५ प्रतिशत, उपमहानगरमा ७ र महानगरपालिका क्षेत्रभित्र संचालन भएका सहकारीको हकमा १० प्रतिशत रहेको थियो । गाउँपालिकाको हकमा भने कर छुट रहेको छ । महासंघको पहलकदमीमा आर्थिक वर्ष २०७७/७८ बजेटमार्फत सहकारी ऐन २०७४ अनुसार आर्थिक ऐनमा व्यवस्था भई आयकर समायोजन भएकोे थियो ।

महासंघका अध्यक्ष मिनराज कडेलको नेतृत्वमा अर्थमन्त्रालय पुगेको सहकारीकर्मीको टोलीले सहकारी ऐनमा नै आयकरको स्पष्ट व्यवस्था गरिएको र विगतका वर्षदेखि सोही अनुरुप भएको आयकरलाई आर्थिक विधेयकमार्फत बृद्धि गर्न नहुने बताएको छ । अर्थमन्त्री शर्माले छलफल गरेर महासंघसँग अन्तक्रिया गर्ने भन्दै छोटो प्रतिक्रिया दिए। ‘के भएछ । म बुझौला, किन बढ्यो सचिवसँग बुझौला ।’ उनले भने ।

महासंघका वरिष्ठ उपाध्यक्ष तथा अन्तर्राष्ट्रिय सहकारी महासंघका ग्लोबल बोर्ड सदस्य ओमदेवी मल्लले ऐनमा उल्लेख भएको विषयलाई सम्बोधन गर्न माग गरिन ।  महासंघका महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङ सुब्बाले राजश्व परामर्शको छलफलमा महासंघलाई अघिल्ला बर्षहरुमा बोलाउने गरिएको भए पनि यस बर्ष नबोलाइएकाले त्रुटी भएको बताईन ।