शनिबार, आश्विन १७ गते २०८३

१७७.७ मेगावाट बिजुली भारततर्फ निर्यात, औसत रु. ११.२ मा बिक्री

जेठ २२, २०७९ आइतबार
१७७.७ मेगावाट बिजुली भारततर्फ निर्यात, औसत रु. ११.२ मा बिक्री

 

नेपालले शनिबार राति १२ बजेदेखि विद्युत भारत निर्यात गर्न शुरु गरेको छ ।  नेपाल विद्युत् प्राधिकरणको स्वामित्वमा रहेको १४४ मेगावाट जडित क्षमताको कालीगण्डकी ए विद्युतगृहबाट उत्पादित विद्युत् भारत निर्यात गर्न थालिएको हो  । 

विद्युत् भारतीय ऊर्जा एक्सचेञ्ज (आइइएक्स) मा त्रिशूली र देवीघाट जलविद्युत्गृहबाट उत्पादित विद्युत्लाई स्रोत मानी दैनिकरुपमा करिब ३९ मेगावाट विद्युत् निर्यात गरिरहेको छ। कालीगण्डकीको पनि शुरु भएसँगै प्राधिकरणले १७७.७ मेगावाट विद्युत् भारत निर्यात गर्नेछ। कालीगण्डकी ए को १४० मेगावाट, त्रिशूलीको २३.२ मेगावाट र देवीघाटको १४.५ मेगावाट विद्युत् भारत निर्यात हुनेछ।

वर्खा याममा नदीनालामा पानीको बहाव बढेपछि विद्युतगृहले पूर्ण क्षमतामा विद्युत उत्पादन गर्ने गर्छन् । आन्तरिक रुपमा खपत गरी बाँकी अतिरिक्त उत्पादनलाई प्राधिकरणले भारत निर्यात गरेको हो।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आज रातिदेखि निर्यात हुने विद्युतको औसत बिक्री मूल्य प्रतियुनिट ११.२ रुपैयाँ (भारु ७) रहेको बताए। अधिकतम दर प्रतियुनिट १९ रुपैयाँ (भारु १२), न्यूनतम २.३८ रुपैयाँ (भारु १.४९) र औसत दर ११.२ रुपैयाँ (भारु ७) रहेको छ ।  

आइएक्समा २४ घण्टालाई १५–१५ मिनेटको ९६ वटा ब्ल्कमा विभाजन गरी बजारले तय गरेको प्रतिस्पर्धी दरमा विद्युत कारोबार गरिन्छ।

नेपालले भारतीय भारतीय ऊर्जा एक्सचेञ्ज मार्केटमा प्रतिस्पर्धी दरमा ३६४ मेगावाटसम्म विद्युत् बिक्री गर्न अनुमति पाएको छ।