काभ्रेपलाञ्चोकमा रहेका सहकारी संस्थाका व्यवस्थापन प्रमुखहरुको गोष्ठी हुने भएको छ । जिल्ला सहकारी संघले आगामी असार ५ र ६ गते दुइदिने गोष्ठी गर्न लागेको हो । जिल्लाको अभियानको गुणात्मक विकास तथा विस्तार एवं सहकारी क्षेत्रमा अग्रसर व्यक्तिहरुको मानवीयता तथा क्षमता अभिवृद्धि गर्न संघले गोष्ठी आयोजना गरेकाे संघले जनाएको छ ।
कुशल प्रतिस्पर्धी व्यवस्थापन तयार गर्ने, कार्यरत व्यवस्थापकहरुको व्यवस्थापकी क्षमता अभिवृद्धि गर्ने, सहकारी सञ्चालनका नवीनतम् विधि, प्रविधि र अभ्यासका बारेमा अनुभव साटासाट गर्ने, जोखिम पहिचान गरी न्युनीकरणका उपायमा छलफल गर्ने गोष्ठीको मुल उद्देश्य रहेका छन् । गोष्ठीले सहकारीहरुबीच आपसी समन्वय र सिकाईको साझा मञ्चको विकास हुनुका साथै व्यवस्थापकीय क्षेत्र मजबुत हुने विश्वास लिइएको छ ।
सबै स्थानीय तहमा रहेका सहकारी क्षेत्रमा कार्यरत व्यवस्थापकहरुलाई गोष्ठी सहभागि गराइने र श्रोत साधनलाई मध्यनजर गरी १५० जना व्यवस्थापक प्रमुखलाई सहभागि गराइने संघका अध्यक्ष दिलिप शर्माले जानकारी दिए । गोष्ठीको व्यवस्थापनको जिम्मेवारी कोअपरेटिभ म्यानेजर्स क्लब, काभ्रेलाई दिइएको छ ।
गोष्ठीमा प्रादेशिक सहकारी मन्त्रालयि, महासंघ, सहकारी बैंक, नेफ्स्कुन र अन्य विज्ञहरुको उपस्थितिमा राष्ट्रिय अर्थतन्त्र निर्माणमा सहकारीको भूमिका, प्रभावकारी ऋण असुली, सहकारीमा मानवसंशाधनको नवप्रवर्तन, सकारात्मक सोच एवं सफल व्यवस्थापकका अनुभव साटासाट जस्ता विषयमा सत्रहरु सञ्चालन हुनेछन् ।
काभ्रे जिल्ला संघमा ५४५ संस्था आवद्ध रहेका छन् भने संघले ४५ करोड पुँजी परिचालन गरेको छ ।