बुधबार, भाद्र ३ गते २०८३

भाइरसले भन्दा भोकले मर्नेको संख्या बढि, प्रतिमिनेट भोकले ११ र कोभिडले ७ को मृत्यु

आषाढ २५, २०७८ शुक्रबार
भाइरसले भन्दा भोकले मर्नेको संख्या बढि,  प्रतिमिनेट भोकले ११ र कोभिडले ७ को मृत्यु

 

कोभिड–१९ महामारीको प्रभावले भोक तथा कुपोषणले मर्ने मानिसको संख्या बढेको देखिएको छ । कोभिड शुरु हुन अगाडि र पछाडिको तथ्यांकमा उल्लेखनीय फरक देखिएको छ ।

भोक तथा कुपोषणका कारणा मर्ने मानिसकाे संख्या अहिले आएर प्रतिमिनेट ११ पुगेको भोकमरी सम्बन्धमा काम गरिरहेको अन्तर्राष्ट्रिय संस्था अक्सफामद्वारा सार्वजनिक एक प्रतिवेदनमा उल्लेख गरिएको छ । 

भाइरसका कारण भोकमरीमा गुणात्मक वृद्धि भएको ‘दि हङ्गगर भाइरस मल्टिप्लाईज’ नाम दिइएको उक्त प्रतिवेदनले भनेको छ । 

कोरोना भाइरसको संक्रमण, त्यसबाट बच्न गरिएका गतिविधिकाकारण विश्वमा विषम परिस्थितिको सिर्जना भएकाले गत वर्ष भोकमरीका कारण मृत्यु हुनेको संख्यामा ६ गुणा  वृद्धि भएको प्रतिवेदनमा उल्लेख छ । कोभिड–१९ महामारीले प्रति मिनेट ७ जनाको ज्यान लिएको पनि उक्त प्रतिवेदनले देखाएको छ। 

हाल विश्वभर १५ कराेडभन्दा बढि मानिस खाद्द्य सुरक्षा विहिन अवस्था रहेकाे र गत वर्ष मात्रै थपिनेकाे संख्या २ कराेड रहेकाे छ ।  विश्वभर भोकमरी तथा खाद्य संकट थप गहिरिने चेतावनी  समेत अक्सफामले दिएको छ।

विश्वभर भोकमरीका कारण हुने दुई तिहाई मृत्युको प्राथमिक कारणका रुपमा युद्ध तथा द्वन्द्वलाई मानिँदै आएको छ। तथापि पछिल्लो समयमा देखिएको नतिजाले कोभिड–१९ को महामारी तथा त्यसबाट उत्पन्न आर्थिक संकटका साथै जलवायू परिवर्तनका कारण उत्पन्न संकटले पनि दसौं लाख मानिसलाई भोकमरीतर्फ धकेलेको प्रतिवेदनमा उल्लेख छ।

विश्वभर खाद्यान्नको मूल्य गत एक दशकमै ४० प्रतिशतले वृद्धि भएकोतर्फ पनि अक्सफामले सचेत गराएको छ।

'तथ्यांकहरु असाध्यै भयावह छन्। यसले के देखिन्छ भने मानिसहरु कल्पनै गर्न नसकिने पीडाबाट गुज्रिरहेका छन्। ‘एकमात्र व्यक्तिले यस्तो सामना गर्नु पनि दुर्भाग्य हो,' अक्सफाम अमेरिकाका अध्यक्ष तथा सीइओ एबी म्याक्सम्यानले भनेकी छन्।

अक्सफामले युद्धग्रस्त क्षेत्र जस्तै अफगानिस्तान, इथियोपिया, दक्षिणी सुडान, सिरया तथा यमन  विश्वकै सबैभन्दा खराब भोकमरीको केन्द्रका रुपमा रहेको जनाएको छ।

यस्तै कोभिड १९ महामारीका कारण भारत, दक्षिण अफ्रिका र ब्राजिल भोकमरीको उदाउँदो केन्द्रका रुपमा देखिएको अक्सफामले जनाएको छ। कोभिड महामारीका कारण ती देशहरुमा खाद्य असुरक्षा गहिरिँदै गएकोतर्फ प्रतिवेदनले औल्याएको छ।

राम्रो खाद्य प्रणाली भएको भनिने अमेरिका जस्तो देशमा पनि कोभिड महामारी र हालैका जलवायू परिवर्तनका असरका कारण खाद्य सुरक्षा प्रणाली प्रभावित बनेको र यसको असर नागरिकमा देखिएको पनि प्रतिवेदनमा लेखिएको छ।

भोकमरीबाट सबैभन्दा बढी प्रभावित समूह महिला, विस्थापितहरु तथा अनौपचारिक क्षेत्रका श्रमिकहरु प्रमुख रूपमा रहेका छन्।

भोकमरीका कारण हुने मृत्युको संख्यामा उच्च वृद्धि भएकै समयमा विश्वभर सैन्य खर्चमा ५१ अर्ब डलरले वृद्धि भएको तथ्यांक छ, जुन रकमले विश्वको भोकमरी अन्त्य गर्नमा सघाउ पुग्न सक्छ।

यसैबीच विश्वका १० धनाढ्यको सम्पत्ति गत वर्ष  ४१३ अर्ब डलरले वृद्धि भएको छ, जुन वैश्विक मानवीय सहायताको लागि संयुक्त राष्ट्र संघले अनुमान गरेको आवश्यक लागतभन्दा ११ गुनाले बढी हो।

भोकमरीबाट सताइएकाहरुलाई आवश्यक सहयोग उपलब्ध गराइरहेका दातृ निकायहरुलाई मद्दत लागि अपील गर्दै  म्याक्सम्यानले नीति निर्माताहरुसँग बहुपक्षीय सहायताका लागि आह्वान समेत गरेकी छन्।