नेपाली उपभोक्ता संरक्षण महासंघले पेट्रोलियम पदार्थको मुल्यवृद्धि तत्काल फिर्ता गर्न सरकारसमक्ष माग गरेको छ ।
महासंघले आयल निगमले प्रेषित गरेको प्रेस विज्ञप्ति अनुसारको थप हुने मुल्य आन्तरिक व्यवस्थापन गर्नसमेत माग राखेको छ । यसैगरी, महासंघले अन्तर्राष्ट्रिय मापदण्डअनुसार पेट्रोलियम पदार्थको फिलिङ, ढुवानी, भण्डारण र बिक्रि–वितरणसम्बन्धी नेपाल सरकारको ऐन, नियम तर्जुमा गरी कार्यान्वयन गर्नुपर्ने प्रस्ताव अघि सारेको छ ।
पेट्रोलियम पदार्थको अनावश्यक खपत र मानवीय स्वास्थ्य एवम् वातावरणीय नकारात्मक प्रभाव कम गर्न पेट्रोलियम पद्धार्थबाट चल्ने सवारीसाधन, मेशिनरी, उपकरणहरु निश्चित् अवधि पश्चात् चल्न नपाउनेगरि कानुनी तर्जुमा गर्नसमेत महासंघले प्रस्ताव राखेको छ ।
पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष चन्द्र साउदले पेट्रोलियम पदार्थमा गरिएको मुल्यवृद्धि तत्काल रोक्न सरकारसँग माग गरे । उनले सानातिना विषयमा सडकमा आउने ईच्छा नभएपनि अब बाध्य भएर महासंघ सडकमा उत्रनुपर्ने दिन आएको सुनाए । उनले देशमा दिनहँु मुल्यवृद्धि बढ्दै गएको उल्लेख गर्दैै देश नै नरहने अवस्था आउन लागेको भन्दै चिन्ता व्यक्त गरे ।
उनले आफूहरुका माग सम्बोधन गर्न सरकारबाट आवश्यक पहल नभए सडकमा आउनेपनि चेतावनी दिए । उनले भने, ‘सरकारले हाम्रा मागहरु सम्बोधन गर्न आवश्यक पहल नगरे आन्दोलनका कार्यक्रमहरु अगाडि बढाउनेछौं ।’