आर्थिक संकटसँग जुधिरहेको श्रीलंकामा थप तनाव बढेको छ । राजधानी कोलम्बो लगायत प्रमुख शहरका सडकमा प्रदर्शनकारीहरु उत्रिएका छन् । लगातार विरोधपछि श्रीलंकाली प्रधानमन्त्री महिन्दा राजापक्षेले राजिनामा दिएका छन् । तर उनको राजिनामा पछि पनि देशव्यापी प्रदर्शन रोकिएको छैन । उनीहरुले राष्ट्रपछि गोटाबाया राजापक्षेले पनि राजिनामा दिनुपर्ने माग गरेका छन् । प्रदर्शनकारीले राजापक्षेको पुर्ख्याैली घर आगो लगाइदिएका छन् । उनीहरुले मन्त्री, सांसद र मेयरका घरमा आगो लगाइदिएका हुन् ।
केहि अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले स्थिति नियन्त्रण बाहिर गइसकेको जनाएका छन् । जताततै प्रदर्शन हुन थालेपछि प्रहरीले स्थिति नियन्त्रण लिन सकेको छैन । राजापक्षेको सरकारी निवास बाहिर प्रदर्शन हुन थालेपछि उनलाई हेलिकप्टरबाट सुरक्षित स्थानतर्फ लगिएको समाचार छ ।
प्रदर्शनकारीले सरकारकाे पक्षमा उत्रिएका मानिस र बसहरूलाइ नियन्त्रणमा लिएका छन्। स्थानीय प्रहरी प्रशासनको हवाला दिँदै भड्किएको प्रदर्शनयता ७ जनाको मृत्यु भइसकेको र करिब २०० जना घाइते भएको अपुष्ट समाचार प्राप्त भएको सञ्चारमाध्यमहरुले जनाएका छन् ।
