शनिबार, आश्विन १७ गते २०८३

सरकारको राजश्वमुखी नीतिले आर्थिक वृद्धि हुन सकेनः व्यवसायी

बैशाख २१, २०७९ बुधबार
सरकारको राजश्वमुखी नीतिले आर्थिक वृद्धि हुन सकेनः व्यवसायी

 

सरकारको राजश्वमुखी नीतिले मुलुकमा अर्थतन्त्र वृद्धि हुन नसकेको उद्योगी व्यवसायीहरुले बताएका छन् । पछिल्लो ३० वर्षमा बैंक वित्तीय संस्थाको कर्जा बिस्तार २०.३ प्रतिशतले बढेको तर आर्थिक बृद्धि ४.३६ प्रतिशतले मात्रै बढेको देखिएको छ । त्यस मात्रामा कर्जा बिस्तार हुँदा समेत त्यसको प्रभाव आर्थिक बृद्धिमा नदेखिनुको सरकारको राजस्वमुखी नीति नै कारक रहेको उनीहरुको भनाई छ । 

निजी क्षेत्रमा जुन अनुपातका कर्जा बिस्तार भयो, त्यसको ठूलो अंश आयातमा प्रयोग भएको देखिएको छ । व्यवसायीले अधिक नाफा हुने क्षेत्रमा नै काम गर्ने हुनाले अर्थतन्त्र आयातमुखी हुन गएको छ । 

नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आयोजना गरेको कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा नियामक निकाय आर्थिक बृद्धिभन्दा पनि राजस्व संकलनमा मात्र केन्द्रीत भएर उद्योगको समस्यालाई समाधान गर्न नचाहेको बताउँछन् । 

अर्थमन्त्रीको सफलता मापन राजस्व कति उठायो भन्नेमा आधारित भएकाले एकैपटक धेरै राजस्व उठाउने नीति लिदाँ आयातको परिमाण बढ्न गएको हो उनले औंल्याए ।

अर्थमन्त्रीको सफलता रोजगार कति सिर्जना भयो ? अर्थतन्त्र बिस्तार कति भयो ? उत्पादन कति बढ्यो ? राजश्वको आन्तरिक स्रोत कसरी बढ्यो भन्ने आधारमा हुनुपर्नेमा उनको जोड थियो । 

नेपालको अर्थतन्त्रले तरलता अभाव, भुक्तानी सन्तुलन, मुद्रास्फिती र उर्जा संकट जस्ता समस्या अहिले भोगिरहेको भएपनि श्रीलंकाको अवस्थातर्फ अगाडि नबढेको उनले जनाए । 

नेपाल उद्योग परिसंघका अध्यक्ष बिष्णु कुमार अग्रवालले अर्थतन्त्रमा देखिएको समस्यालाई अवसरका रुपमा लिनुपर्ने बताएका छन् । आगामी दिनमा यसप्रकारको समस्या आउन नदिने वातावरण बनाउने गरी काम गर्नुपर्ने बताए । उनले समस्या समाधानका लागि वैदेशिक लगानी बढाउने, उर्जामा लगानी बढाउनु पर्ने उल्लेख गरे । 

उनले उद्योगको क्षमता नबढ्दा आयात बढेको भन्दै उद्योगको क्षमता बढाउने नीति लिनुपर्ने जनाए । उनले अबको १० वर्ष स्वदेशी सामान उपभोग गर्ने नीति अपनाउनु उपयुक्त हुने सुझाए । 

त्यसैगरी नेपाल बैंकर संघका उपाध्यक्ष सुनिल केसीले तत्काल तरलता समस्या समाधान हुने सम्भावना नदेखिएको बताएका छन् । केसीले बैकिंङ प्रणालीमा बचत बढाउने नयाँ स्रोत विकास हुन नसके तरलता समस्या समाधान हुन कठिन हुने बताए ।

‘रेमिट्यान्स बढाउने भनिएपनि कसरी बढाउने कुनै योजना नभएको उल्लेख गरे ।  अन्तर्राष्ट्रिय बजारबाट ॠण ल्याउने विकल्प रहेपनि तत्कालै यस्तो सम्भावना नदेखिएको उनले जनाए ।