शनिबार, आश्विन १७ गते २०८३

घाेषणापत्रमा सहकारीः कुन दलकाे प्राथमिकतामा के ?

बैशाख ११, २०७९ आइतबार
घाेषणापत्रमा सहकारीः कुन दलकाे प्राथमिकतामा के ?

स्थानीय चुनावको मिति नजिकिएसँगै दलहरुले आफ्ना घोषणा पत्र सार्वजनिक गर्न थालेका छन् । दलहरुका घोषणा पत्रमा सहकारी क्षेत्रलाई पनि स्थान दिएका छन् । सहकारीमार्फत समाजवादतर्फ उन्मुख हुने विषय संविधानमा नै उल्लेख भएपनि दलहरूले घाेषणापत्रमा गरेका प्रतिवद्धता के कसरी कार्यान्वयन गर्लान् त्याे चासाेकाे विषय बनेकाे छ । चुनावमा हाेमिएका प्रमुख दलहरूले सहकारी विषय यसरी उठाएका छन् 

नेकपा एमाले

नेपाल कम्युनिष्ट पार्टी एमालेले स्थानीय तहको निर्वाचन लक्षित आफ्नो घोषणापत्रमा सहकारीमार्फ उद्यमशीलता, रोजगारी वृद्धि गरी र मुलुकको समृद्धि हासिल गर्ने उल्लेख गरेको छ । सहकारीमार्फत स्थानीय पुँजी संकलन गर्ने, उद्यमशीलता विकास, उत्पादन वृद्धि, रोजगारी सिर्जना गरेर गरिबी निवारण गरिने घोषणापत्रमा उल्लेख छ । 

त्यसैगरी सार्वजनिक–निजी, सार्वजनिक–सहकारी एवं सार्वजनिक–सामुदायिक साझेदारी सम्बन्धी नीति तथा कानुनको व्यवस्था गर्ने घोषणपत्रमा उल्लेख छ । प्रत्येक पालिकामा विपन्न परिवारको पहिचान गर्ने, गरिबी सम्बन्धी तथ्यांक अद्यावधिक गर्ने र उनीहरूको सहभागितामा उत्पादनमूलक सहकारी निर्माण गर्नेे एमालेको घोषणापत्रमा उल्लेख छ । कृषि सहकारीका माध्यमबाट व्यावसायिक कृषिको विकास गर्ने, उत्पादक र उपभोक्ताको हित संरक्षण गर्दै वितरणमा बिचौलियाको वर्चस्व अन्त्य गर्ने उल्लेख गरिएको छ । 

नेपाली काँग्रेस

आउँदो वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि नेपाली काँग्रेसले जारी गरेको घोषणापत्रमा सहकारीलाई प्रविधिमैत्री बनाउने उल्लेख रहेको छ ।

त्यसैगरी साथै सहकारीको पुँजीलाई उत्पादनशील क्षेत्रमा लगाउने, सहकारी क्षेत्रमा सुशासन कायम गरी मर्यादित बनाउन स्थानीय स्तरमा प्रभावकारी नियमनमा जोड दिने भनिएको छ । सहकारी संघसंस्थाहरुलाई एकीकरण गरी व्यवसायीकरण एवम् गुणस्तर विकास काँग्रेसको घोषणा पत्रमा समेटिएको छ । 

सहकारी संघसंस्थामार्फत कृषिजन्य मल, बीउ, यन्त्र, उपकरण लगायत बिक्री वितरण गर्ने व्यवस्थालाई व्यवस्थित एवम् प्रभावकारी बनाउने घोषणापत्रमा भनिएको छ । सहकारी विद्यालय, कलेज, स्वास्थ्य केन्द्र लगायतको सञ्चालन गर्दा स्थानीय तहको समन्वयमा गर्न व्यवस्था मिलाइने काँग्रेसले आफ्नो घोषणापत्रमा उल्लेख गरेको छ । 

नेकपा एकीकृत समाजवादी

नेकपा एकीकृत समाजवादीले निजी लगानीका विद्यालयहरू सहकारी वा गुठीमा रूपान्तरण हुन चाहने हो भने विशेष सुविधा दिने, सहकारी तथा सामूहिक खेतीको अभ्यासलाई अगाडि बढाइने छ र यस्तो प्रणालीमा आवद्ध किसान समूहरूलाई मालपोत तथा कर छुट दिइने घोषणापत्रमा राखेको छ ।

नेकपा माओवादी केन्द्र

नेकपा माओवादी केन्द्रले कृषि उत्पादनमा सहकारी प्रणालीलाई प्रोत्साहित गरिने घोषणापत्रमा उल्लेख गरेको छ । किसान र उपभोक्ताबीचको विचौलियाहरुको तहगत संरचनालाई न्यूनीकरण गर्दै किसान र उपभोक्ताबीच प्रत्यक्ष सम्बन्ध र लाभको लागि बहुउद्देश्यीय सहकारी प्रणाली मार्फत् कृषि उत्पादन, उत्पादित वस्तुहरुको भण्डारण, ढुवानी र कृषि बजारको व्यवस्था गरिने र साना तथा गरिबीका रेखामुनि रहेका किसानहरुको लागि सहुलियत व्याज दरमा कृषि ऋणको व्यवस्था गरिने बताइएको छ । आर्थिक विकासको क्षेत्रमा सार्वजनिक क्षेत्रलाई प्राथमिकता र नेतृत्वदायी भूमिका, सहकारी प्रणालीलाई प्रोत्साहन र निजी क्षेत्रलाई सहयोगीको रुपमा लिइने पार्टीले उल्लेख गरेको छ । 

जनता समाजवादी पार्टी

जनता समाजवादी पार्टीले चुनावी घोषणापत्रमा साना किसानहरूलाई सहकारीमा संगठित गराएर व्यवसायिक खेती गर्ने व्यवस्था मिलाइने छ । पार्टीले राज्यको सामाजिक उत्तरदायित्व सहितको समाजवादी जार अर्थतन्त्रको आर्थिक मोडेल अबलम्बन गर्ने जसमा सरकारी, निजी, सहकारी र सामुदायिक स्वामित्वबीच गतिशील सन्तुलन, सहकार्य र प्रतिस्पर्धा हुने जनाइएको छ । अर्थतन्त्रको सञ्चालन र विकासमा निजी क्षेत्र, राज्य क्षेत्र, सहकारी क्षेत्र र सामुदायिक क्षेत्रको भूमिकाको गतिशील सन्तुलन कायम गरिने पार्टीले छ ।