नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी दैनिक कामकाजमा फर्किएका छन् । उनलाई गरिएको निलम्बन तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएसँगै उनी काममा फर्किएका हुन् ।
देशको अर्थतन्त्र ध्वस्त पारेको तथा कार्यक्षमता अभाव भएको आरोप लगाउँदै सरकारले छानबिन अघि बढाएको थियो । गठबन्धन सरकार बनेसँगै अर्थमन्त्री जनार्दन शर्मा र गर्भनर अधिकारीबीच मत बाझिएको थियो । मन्त्रिपरिषद्ले एक छानबिन समिति गठन गरेर प्रक्रिया अघि बढाएपछि उनी निलम्बनमा परेका थिए।
त्यसका विरुद्ध गभर्नर अधिकारीले आफूलाई अन्याय भएको भन्दै रिट निवेदन दिएपछि सर्वोच्च अदालतले हिजो अन्तरिम आदेश जारी गरी गभर्नर अधिकारीमाथि भएको कारबाही तत्काल रोक्न सरकारलाई आदेश दिएको हो ।