शनिबार, आश्विन १७ गते २०८३

राष्ट्र बैंकमा झुण्ड्याइयो कालो ब्यानर, गभर्नर निलम्बनको विरोधमा कर्मचारी

बैशाख ४, २०७९ आइतबार
राष्ट्र बैंकमा झुण्ड्याइयो कालो ब्यानर, गभर्नर निलम्बनको विरोधमा कर्मचारी

गभर्नर महाप्रसाद अधिकारीलाई सरकारले निलम्बन गरेको विरोधमा नेपाल राष्ट्र बैंक कर्मचारी संघले राष्ट्र बैंकमै कालो ब्यानर झुण्ड्याएर प्रदर्शन गरेका छन् । सरकारी निर्णयको विरोधमा कालो ब्यानर झुण्ड्याएर कोणसभा आयोजना गरिएको संघका सचिव कृष्ण प्रसाद खरालले जानकारी दिए । 

राष्ट्र बैंकका केन्द्रीय कार्यालयलगायत उपत्यकाबाहिरका सबै कार्यालयमा एकैसाथ कालो ब्यानर टाँगिएको उनले जनाए । 

ब्यानरमा ‘केन्द्रीय बैंकको स्वायत्ततामाथिको नांगो हस्तक्षेप बन्द गर’, निराधार तथा कपोलकल्पित आरोपमा गभर्नर महाप्रसाद अधिकारीमाथि सुरु गरिएको कारबाही प्रक्रिया अविलम्ब फिर्ता गर’ र संकटोन्मुख राष्ट्रिय अर्थतन्त्रको उद्धारका लागि तत्काल विशेष नीति तर्जुमा गरी कार्यान्वयन गर’जस्ता नारा लेखिएका छन् । 

संघका अध्यक्ष रुद्र प्रसाद तिम्सिनाले कोण सभामा बोल्दै राज्य सञ्चालकहरु वित्तीय प्रणालीको दुरुपयोग गरी गलत क्रियाकलापमा लिप्त वित्तीय माफियाहरुको चंगुलमा फस्ने र राष्ट्र बैंकका नेतृत्वमाथि आक्रमण गर्ने गरेको बताएका थिए । 

यसअघि पनि केन्द्रीय बैंकका गभर्नरहरु कल्याणविक्रम अधिकारी, तिलक बहादुर रावल र विजयनाथ भट्टराईलाई तत्कालीन सरकारले बर्खास्तगी र निलम्बन गर्दा विरोध गरेको संघका पदाधिकारीले जनाएका छन् ।