शनिबार, आश्विन १७ गते २०८३

ओरेण्टल को–अपरेटिभले पैसाको सट्टा जग्गा दिने

चैत्र २९, २०७८ मंगलबार
ओरेण्टल को–अपरेटिभले पैसाको सट्टा जग्गा दिने

 

सरकारले समस्याग्रस्त घोषणा गरेको ओरेण्टल को–अपरेटिभ लि. ले सदस्यहरुका लागि नयाँ योजना अघि सारेको छ । झण्डै १० वर्ष अघि बचतकर्ताहरुको ११ अर्ब बराबरको रकम हिनामिना गरेको ओरेण्टलले सदस्यहरुलाई नयाँ योजना ल्याएको हो । सदस्यहरुको बचत फिर्ता गर्न नसकेको भन्दै सरकारले पहिलो चरणमा ओरेण्टल लगायत १३२ वटा सहकारी संस्थालाई समस्याग्रस्त घोषणा गरेको थियो । सरकारले समस्याग्रस्त घोषणा गरेको लामो समय भएपनि बचतकर्तालाई कुनै न्याय दिन सकेको छैन । राज्य कोषबाट करोडौं रकम लिएर बसेका कर्मचारीहरुले सर्वसाधारण बचतकर्ताहरुलाई कुनै राहत दिन सकेन । 

तर ओरेण्टलका अध्यक्ष सुधीर बस्नेत आफैंले दश वर्ष पछि आफ्ना सदस्यलाई बचत फिर्ता गर्ने नयाँ सूचना प्रकाशित गरेका हुन् । आज नागरिक दैनिकमा सूचना प्रकाशन गर्दै उनले सहकारीको तर्फबाट बचतकर्तालाई भक्तपुरको गुण्डुको जग्गा वितरण गरी सदस्यको बचत फरफारक गर्ने उल्लेख गरेका छन् । संस्थाले यस अघि पनि सो सम्बन्धमा पटकपटक सूचना प्रकाशित गरिसकेको  र अझै दायित्व पेश गर्न छुटेका बचतकर्ताहरुलाई अन्तिम मौका रहेकाले यथाशीघ्र बचत फिर्ता लिन बाँकी भए दावी गर्न भनेको छ । 

बचतकर्ताले अनलाइनबाटै फारम भर्न सक्ने र दर्ताका आधारमा जग्गा उपलब्ध गराइने जनाइएको छ । त्यसैगरी धेरै बचतकर्ता रहेकाले गोलाप्रथाद्वारा जग्गा उपलब्ध गराइने, थोरै बचत भएका सदस्यहरुले संयुक्त रुपमा जग्गा लिन पाउने, यदि कसैले जग्गा नलिइ खरिदकर्ता लिइ आएमा सो वापतको रकम पनि दिन सकिने सूचनामा जनाइएको छ । 

जग्गा वितरणका लागि प्लानिङ्ग नक्सा तयार भइसकेको र सहकारी विभागबाट स्वीकृति लिएर भुमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा पेश गरिएको सहकारीले जनाएको छ । नक्सा स्वीकृत तथा कित्ताकाटको अनुमति प्राप्त भएमा साँवा निक्षेपबाट राफसाफ हुनेगरी जग्गा वितरण गरिने सूचनामा उल्लेख छ ।