शुक्रबार, कार्तिक ७ गते २०८३

उद्यमशीलता विकासका लागि सहकारीसँग नीजि क्षेत्र सहकार्य गर्छः ढकाल

चैत्र २६, २०७८ शनिबार
उद्यमशीलता विकासका लागि सहकारीसँग नीजि क्षेत्र सहकार्य गर्छः  ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले धैर्यता, मेहेनत र प्रतिबद्धतालाई प्राथमिकतामा राखेर सहकारीमार्फत काम गर्न सकियो भने सफल बन्न सकिने बताएका छन् । सहकारीमार्फत युवा उद्यमशीलता वृद्धि गर्ने उद्देश्यले  आयोजित नेशनल युथ फोरममा शनिबार आफ्नो प्रस्तुती दिंदै ढकालले सहकारीको माध्यमबाट पूँजी, श्रम र सीपलाई अघि बढाउन सकियो भने सफल हुन सकिने बताएका हुन् । उनले उद्यमशीलताका लागि आफूहरु सहकार्य गर्न जहिल्यै तयार रहेको बताए । 

 ढकालले कुनै पनि काममा सफलता हासिल गर्न धैर्यता, दृढ इच्छा शक्ति र सोचले आवश्यक रहेको पनि औंल्याए । उनले सहकारीमार्फत हुने हरेक व्यवसायिक गतिविधिमा आफूहरु सहकार्य गर्न इच्छुक रहेको पनि बताए । चन्द्रगिरी हिल्स र आइएमइ रेमिट्यान्टसले पाएको व्यवसायिक सफलताको उदाहरण दिंदै ढकालले सामूहिक बल, धैर्यता र प्रतिबद्धताले सफल हुन सकेको सुनाए । उनले भने,‘नेपालमा संभावनाहरु प्रशस्त छन । सोच र शक्ति प्राथमिकतामा राख्नुपर्छ । तपाइँहरुले देखिरहनु भएको छ, कोभिडपछि विदेशी पर्यटक नआउँदा आन्तरिक पर्यटन गतिविधि जुन रुपले बढीरहेको छ, त्यसले हामीलाई सिक्ने मौका दिएको छ । विदेशीलाई मात्र पर्यटक मान्ने मानसिकताको अन्त्य भएको छ ।’

ढकालले कतिपय अवस्थामा समस्याले पनि अवसरहरु प्रदान गर्ने गरेको उदाहरण कोभिडपछिको आन्तरिक पर्यटन गतिविधिलाई दिए । उनले सहकारीसँग जोडिएका ७३ लाख जनसंख्यालाई सामूहिक रुपमा जोडेर लान सकियो भने समृद्धि हासिल गर्न सकिने बताए । उनले भने,‘७३ लाख जनसंख्यालाई सातै प्रदेशमा परिचालन गर्न सकियो भने पूर्वाधार निर्माण देखि विकासका सबैखाले काममा अघि बढाउन सकिन्छ । समृद्धिलाई बढावा दिन सकिन्छ ।’