शुक्रबार, कार्तिक ७ गते २०८३

सात बुँदे घोषणापत्र जारी गर्दै सकियो सहकारी उद्यमशिलता राष्ट्रिय युवा सम्मेलन

चैत्र २६, २०७८ शनिबार
सात बुँदे घोषणापत्र जारी गर्दै सकियो सहकारी उद्यमशिलता राष्ट्रिय युवा सम्मेलन

राष्ट्रिय  सहकारी महासंघ नेपालद्वार आयोजित “सहकारी उद्यमशिलता राष्ट्रिय युवा सम्मेलन २०७८”सम्पन भएको छ । सहकारी मार्फत युवाहरुको उद्यमशिलता विकास गर्दै उत्पादन बृद्धि मार्फत आयात प्रतिस्थापन गरी सहकारीलाई अर्थतन्त्रको एक सबल खम्बाको रुपमा स्थापित गर्ने मुख्य उद्देश्यका साथ आयोजित सम्मेलन सात बुँदे घाषणापत्र जारी गर्दै सम्पन भएको हो । 

 घोषणापत्रमा सहकारीमा युवाहरुको अर्थपूर्ण सहभागिता तथा उद्यमशिलता वृद्धिका लागि विद्यमान कानुनहरुको संसोधन र विनियम तथा आन्तरिक कार्यविधिहरुको परिमार्जन गरी अनुकूल वातावरण निर्माणका लागि संयुक्त पहलकदमी गर्ने,  युवाहरुलाई उद्यमशिलताका लागि प्रेरित गर्न सम्पूर्ण सहकारी संघ संस्थामा युवा समन्वय उपसमिति गठन गरी युवा लक्षित कार्यक्रमहरु सञ्चालन गर्ने र  युवाहरुको नविनतम सोच र सृजनात्मक क्षमतालाई पूर्ण उपयोग हुने गरी सहकारी संघ संस्थाको पूँजीलाई सहकारी उद्यम विकासमा अधिकतम परिचालन गर्ने  उल्लेख छ ।

त्यसैगरी  सहकारी संघ संस्थाको बस्तु तथा सेवालाई प्रतिस्पर्धी बनाउन सहकारी शिक्षा तथा नविनतम प्रविधिको प्रयोगमा व्यापकता ल्याउने र सहकारी युवा उद्यमशिलतालाई व्यापक बनाउन र उत्पादन तथा उत्पादकत्व बृद्धि, एवं रोजगारी सृजना गर्न सार्वजनिक, निजी र सहकारी साझेदारी मोडेललाई प्रभावकारी वनाउने घोषणापत्रमा उल्लेख छ । सहकारी मार्फत उत्पादित बस्तु तथा सेवाको मूल्य तथा आपूर्ति श्रृंखला विकास गरी सहकारी ब्राण्ड प्रवद्र्धन गर्ने र सहकारीमा युवा उद्यमशिताका नतिजाहरुको तथ्यांक एकिकृत गरी सहकारीको सक्षमता प्रदर्शन गर्ने  जस्ता बुँदा सम्मेलनले पारित गरेको छ ।