अर्थमन्त्री जनार्दन शर्माले नेपाल र श्रीलंकाबीच तुलना हुन नसक्ने बताएका छन्। राष्ट्र बैंकले विलासिताका वस्तु आयातका कडाइ गर्न सिफारिस गरेपछि नेपालको अवस्था आर्थिक संकटमा फसेको श्रीलंका जस्तो हो कि भन्ने प्रश्न उठेको हो ।
राष्ट्र बैंकले आयोजना गरेको आर्थिक तथा वित्त सम्मेलनमा बोल्दै उनले श्रीलंका र नेपालको ऋण, उत्पादन क्षेत्र ,विदेशी लगानी र ऋण सहायताको कुरालाई हेर्दा तुलना नहुने बताएका हुन्। केही मानिसले नेपाललाई श्रीलंका बनाउन खोज पनि आफूले उनीहरुको सपना पूरा गर्न नदिने उनले बताए।
‘कतिपयलाई रहर छ नेपाललाई श्रीलंका बनाउने। तिनको सपना पूरा हुँदैन। नेपाल र श्रीलंकाको तुलना नै हुन सक्दैन। हाम्रो ऋणको कुरालाई हेर्नुस्। हाम्रो उत्पादन क्षेत्रको कुरालाई हेर्नुस्। विदेशी लगानीका कुरालाई हेर्नुस्। त्यहाँ तुलना हुने कुरा नै छैन। तुलना नहुने कुरामा तुलना गर्दै आज जनतालाई आतंकित पार्ने काम भइरहेको छ। त्यो गलत छ,’ उनले भने।
अर्थतन्त्रमा समस्या रहेको तर नेपाललाई श्रीलंकासँग तुलना गर्नु नै गलत रहेको उनको भनाइ छ। उनले अर्थतन्त्रलाई सुधारका बारेमा बहस हुनुपर्ने बताए। उनले विलासिताका सामानमा सरकारले धेरै छुट दिएकाले आयात बढेको र विदेशी मुद्रा सञ्चितिमा दबाब परेको समेत बताए।
‘अहिलेको डलरको सञ्चिति साढे ६ महिनालाई पुग्ने छ। यो भन्दा तल नझरोस् भनेर हामी सतर्क हुनुपर्छ। किन बढ्दै गयो भन्दा विलासिताका सामान हामीले छुट दियौं धेरै, हाम्रो स्याउहरु जुम्ला र मुगुमा कुहिएर फालियो। हामीले स्याउ आयातमा प्रोत्साहित गर्यौं भने हाम्रो गल्ती त्यहाँ भएको छ,’ मन्त्री शर्माले भने, ‘दुई महिनामा साग रोप्दा खान तयार हुन्छ तर बाहिरबाट ल्याउन थालेका छौं। हामीसँग उत्पादनको लागि सबै कुरा छ तर हामीले नीतिमा कतै कमजोरी भयो। अनुदानले किन उत्पादन वृद्धि गरेनरु हाम्रो नीतिमा कतै गडबडी भयो।’
उनले विलासिताका वस्तुहरु बढी आयात घटाउन जोड दिँदै आफ्नो स्रोत साधनको उपयोग कसरी गर्ने भन्ने बारेमा सोच्ने समय आएको बताए।
कार्यक्रममा बोल्दै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले भननेपालको अर्थतन्त्र श्रीलंकाको बाटोमा रहेको बताएका छन् ।
गभर्नर अधिकारीले अर्थतन्त्रमा बाह्य जोखिम कायम रहेको आयात नघटेमा श्रीलंकाजस्तो स्थिती आउन सक्ने चेतावनी दिए । ‘आयात बढ्दै जाने तथा सो अनुसारको विदेशी मुद्रा आर्जन नभएमा श्रीलंकाको बाटोमा हामी जान सक्छौ, अहिले अर्थतन्त्रमा बाह्य क्षेत्रको स्थायीत्व प्रमुख चुनौतीको रुपमा देखिएको छ,’ गभर्नर अधिकारीले भने ।
गभर्नर अधिकारीले चालु आर्थिक वर्षको शुरुदेखि नै रेमिट्यान्स घट्दै गएको तथा आयात बढेको कारण शोधानान्तर घाटा भएको र बैंकमा तरलता अभाव रहेको बताए ।
‘सरकारसँग सहकार्यमा राष्ट्र बैंकले आयात निरुत्साहन गर्नका लागि नगद मार्जिनदेखि लिएर कर्जामा जोखिम भार थप्ने तथा सुन र चाँदीको आयातमा कडाइ गरेको छ, विदेशी सञ्चिती जोगाउनुपर्ने अहिलेको बाध्यता भएको गभर्नर अधिकारीको जिकिर छ ।
उनले पेट्रोलियम पदार्थको मूल्यले बाह्य क्षेत्रमा चाप परेको र लगानी योग्य रकम नभएको कारण ब्याजदर बढेको बताए ।
गभर्नर अधिकारीले भने ंउपभोगमुखी हुँदै गएमा र बानी परिवर्तन भएमा अर्थतन्त्रमा समस्या देखिन्छ, उत्पादनमुलक क्षेत्रमा लगानी बढाउने र आयात घटाउदै लैजाने नीति लिनुपर्ने हुन्छ ।