राजधानीमा सहकारीमार्फत युवा उद्यमशीलता वृद्धि गर्ने उद्देश्यले ‘नेशनल युथ फोरम शुरु भएको छ ।
फोरममा मन्तब्य राख्दै अतिथि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले नेपालमा राजनीति परिवर्तन भइसकेकाले अब आर्थिक र मानसिक सन्तुष्टिको समृद्धि आवश्यक रहेको औंल्याएका छन् ।
सहकारीमार्फत युवा उद्यमशीलता वृद्धि गर्ने उद्देश्यले शुक्रबारदेखि काठमाडौंमा शुरु भएको दुई दिने नेशनल युथ फोरमको उद्घाटन गर्दै मन्त्री पौडेलले आफ्नो धारणा राख्दै देशमा राजनीतिक परिवर्तन आइसकेकाले अब युवाहरुले आर्थिक समृद्धितर्फ उन्मुख हुनुपर्ने बताएका हुन् ।
विदेशमा जाँदा मात्र राम्रो हुने, विदेशमा मात्र सफलता हासिल हुने भन्ने खालको मानसिकताको अन्त्य गर्दै नेपालमै संभावनाहरु खोज्नुपर्ने उनको भनाइ छ । उनले भने,‘देशमा ढिला भए पनि विकास हुँदैछ । पूर्वाधार निर्माण भइरहेको छ । दिगो विकासको लक्ष्य अघि बढाइएको छ । अब समृद्धिका लागि युवाहरुले स्वदेशमै संभावना देख्नुपर्छ ।’ सहकारीलाई देशको संविधानले तीन खम्बे अर्थनीतिमा समेटेकाले दिगो विकास लक्ष्यका साथ समूहगत रुपमा युवाहरु लाग्न पनि उनले आग्रह गरे ।
सहकारीमा लागेका युवाहरुलाई प्रोत्साहित गर्दै मन्त्री पौडेलले लगानी गर्न नडराउन अब्हान गर्दै मन्त्री पौडेलले अब युवाहरुले उत्पादनमुलक क्षेत्रमा लगानी गर्नुपर्ने धारणा राखे । उनले मुलुकको समृद्धिका लागि नीजि क्षेत्र, सामूदायिक र सहकारीलाई सँगै अघि बढाउन युवाहरुलाई आग्रह पनि गरे ।
भूमि व्यवस्था, सहकारी तथा गरिबि निवारण मन्त्रालयका सचिब राम प्रसाद थपलियाले देशको सबै तहको विकास र समृद्धिका लागि सहकारी मोडेल महत्वपूर्ण हुने बताए । राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कंडेलले सहकारी अभियानमार्फत युवाहरुलाई उद्यमशिलता जोड्नसके समृद्ध नेपाल निर्माणमा सहयोग पुग्ने धारणा राखे । सहकारी महासंघका पूर्वअध्यक्ष केशव प्रसाद बडालले सबै क्षेत्रमा सहकारीले काम गर्न पाउने गरी कानुनी व्यवस्था गर्न आग्रह गरे ।
राष्ट्रिय सहकारी महासंघकी महाप्रबन्धक चित्रा कुमारी थाम्सुहाङ् सुब्बाले सहकारी क्षेत्रको अबको फोकस उद्यमशीलता भएको उल्लेख गरिन । सहकारी अभियानलाई दिगो र मर्यादित बनाउन युवाहरुको सत्रिय सहभागिता आवश्यक भएको धारणा राखिन । सहकारी क्षेत्रमा करिब ३० प्रतिशत युवा सहभागिता रहेको आँकडा प्रस्तुत गर्दै युवा सहभागिताले नै सहकारीलाई मर्यादित र प्रविधिमैत्री बनाउन सकिने दावी उनको थियो ।
राष्ट्रिय सहकारी महासंघका सञ्चालक तथा युवा फोरमका संयोजक सागर ढकालले सहकारी क्षेत्र मुलुकको आर्थिक विकासको प्रमुख साझेदार भएकाले यसका लागि युवाहरुलाई प्रोत्साहित गर्नुपर्ने बताएका छन् । नेपालमा कुल जनसंख्याको एक तिहाइ संख्या युवाहरु रहेकाले युवा मुलुकको विकासका लागि युवाहरुलाई प्रोत्साहित गर्नुपर्ने धारणा राखे ।
नेपालको बेरोजगार युवाशक्ति आर्थिक उत्पादन र सीपसँग जोडिन नसकेको जनाउँदै युवाहरुलाइ स्वदेशमै उद्यमशिलता विकासतर्फ आकर्षित ध्यानाकर्षण गराए । युवाहरुलाई उद्यमशिलतामा तिर्खा जगाउन गोष्ठीको आयोजना गरिएको बताउदै उनले सरकारले नीतिगत तहमा सुधार गर्नुपर्ने पनि औंल्याए ।
संयोजक ढकालले महिला नेतृत्व विकासमा सहकारीको योगदान रहेको भन्दै त्यसरी नै युवा सशक्तिकरण, उनीहरुको कार्यलाई प्रोत्साहन र समर्थन गर्ने, साझेदारीलाइ बढवा दिने र युवाहरुको पहिचानको सुनिश्चिता गर्ने उद्देश्यले युवाको भूमिकालाई प्रोत्साहित गरिनुपर्ने आवश्यकता औंल्याए ।
राष्ट्रिय सहकारी महासंघको आयोजनामा एभरेष्ट होटलमा शुरू भएको फोरम शुक्रबार र शनिबार दुई दिन सञ्चालन हुनेछ ।
फोरममा देशभरका दुई सय पचास सहकारीका सञ्चालक, युवा उद्यमीहरु र प्रतिनिधिहरुको सहभागिता रहने महासंघका सञ्चालक तथा युवा फोरमका संयोजक सागर ढकालले बताए ।
सहकारीमार्फत युवा उद्यमशीलता वृद्धिमा टेवा पुर्याउने प्रमुख उद्देश्य कार्यक्रममा युवा र उद्यमशीलता सम्बन्धी विभिन्न चार विषयमा छलफल र प्रस्तुति हुने आयोजकले जनाएका छन् ।