बुधबार, भाद्र ३ गते २०८३

नेपाल लाइफ इन्स्योरेन्सको २१औं साधारणसभा, १४ प्रतिशत बोनस पारित

चैत्र २२, २०७८ मंगलबार
नेपाल लाइफ इन्स्योरेन्सको २१औं साधारणसभा, १४ प्रतिशत बोनस पारित


नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको २१औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभाले शेयरधनीहरुलाई चुक्ता पूँजीको १४ प्रतिशत बोनस सेयर दिने भएको छ । त्यसैगरी कर प्रयोजनका लागि ०.७४ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गरेको छ । बोनश शेयर वितरण पश्चात् कम्पनीको चुक्ता पूँजी  ८ अर्ब २० करोड ७९ लाख ६६ हजार ५४४ रुपैयाँ हुनेछ । 

कम्पनीका अध्यक्ष गोविन्द लाल संघईको अध्यक्षतामा सम्पन्न उक्त सभामा वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै समिक्षा वर्षमा कम्पनीले कुल बीमा शुल्क करिब २७ अर्ब ६५ करोड आर्जन गरी सर्वाधिक बजार हिस्सा हासिल गर्न सफल भएको बताए । 

२१ वर्षमा जीवन बीमा क्षेत्रमा कम्पनीको व्यवसायिक हिस्सा र गरिमालाई तमाम चुनौतिहरु बीच अझै नयाँ उचाइमा अगाडि बढाउनका लागि संरचनात्मक सुधार, संस्थागत सुशासनको पूर्ण पालना, सुदृढ आन्तरिक नियन्त्रण प्रणाली, सेवा प्रणालीमा नविन प्रविधिको प्रयोग, सम्पत्ति र दायित्व बीचको सन्तुलन, ग्राहक केन्द्रित योजना, विकेन्द्रिकरण, तालिम एवं अनुसन्धान तथा नयाँ बजारीकरण रणनीति अवलम्बन गर्नुपर्ने अध्यक्ष संघईले बताए । 

सभामा कम्पनीका वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले बीमा समितिबाट जारी लगानी निर्देशिकाको परिधिभित्र रही दीगो एवं भरपर्दो लगानीका क्षेत्रहरुमा लगानी विस्तार तथा विविधीकरण गर्दै जाने नीति लिएको बताए । 

सभाबाट आर्थिक वर्ष २०७६ र ०७७ को संचालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब, आय व्यय हिसाब, नगद प्रवाह विवरणहरु एवं कम्पनीको प्रवन्धपत्र तथा नियमावलीमा गरिएको संशोधन प्रस्तावहरु सभाद्वारा पारित भएको छ ।

सभाले संस्थापक शेयरधनीका तर्फबाट संस्थापक संचालकहरुमा गोविन्द लाल संघई, कमलेश कुमार अग्रवाल, विवेक अग्रवाल र शक्ति कुमार गोल्यान लाई निर्विरोध चयन गरेको छ । 

साधारण सभा पश्चात् बसेको संचालक समितिको ३३६औं बैठकले नव निर्वाचित संचालक गोविन्द लाल संघईलाई संचालक समितिको अध्यक्षमा सर्वसम्मत चयन गरेको छ । 

कम्पनीको लगानीमा १३३.८६ अर्ब रुपैयाँ रहेको छ भने जीवन बीमाकोष १२४ अर्ब ८४ करोड रुपैयाँ र शेयरधनी कोष ९ अर्ब ६७ करोडभन्दा बढी रहेको छ । कम्पनीमा २ लाख भन्दाबढी प्रशिक्षित अभिकर्ता रहेका छन् । हाल कम्पनीले आफ्ना सेवाग्राहीहरु तथा ग्राहकहरूका लागि देशभर २ सय २ कार्यालय सञ्जालहरू मार्फत जीवन बीमासम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराइरहेको छ । यस कम्पनीमा हालसम्म वैदेशिक रोजगार समेत गरि ३० लाख भन्दा बढी बीमितहरु रहेका छन् ।