ललितपुर जिल्ला सहकारी संघको निर्वाचन सहितको साधारणसभा चैत्र २० गते हुँदैछ । संघको नयाँ नेतृत्व चुनिने भएकोले अघिल्लो दिनबाट सरगर्मी बढेको छ । निर्वाचनमा प्यानल सहित दुइ समुहले उमेदवारी दिएसँगै ललितपुरमा सरगर्मी बढेको हो ।
विभिन्न दलसम्बद्ध संयुक्त प्यानलको तर्फबाट केदार गोर्खालीको प्यानल रहेको छ । श्री विश्वश्री बहुउद्देश्यीय सहकारीको प्रतिनिधित्व गर्दै गोर्खालीले अध्यक्षमा उमेदवारी दिएका छन् । अर्को प्यानलबाट मनासलु बहुउद्देश्यीय सहकारीका राजेन्द्र पौड्याल अध्यक्ष पदमा दावेदारी गरेका छन् ।
गोर्खाली र पौड्याल दुवै सहकारी क्षेत्रमा परिचित र अब्बल व्यक्तित्व रहेका छन् । दुवै पक्ष पूर्ण प्यानलसहित नै चुनावमा भिडेपछि ललितपुरका सहकारीकर्मीबीच बाजी कसले मार्ने हो भन्ने आज चर्चा छाएको छ ।
गोर्खालीको पक्षमा यस अघि संघका अध्यक्ष रहेका माधव दुलाल सहित ८ सञ्चालकको समर्थन रहेको बताइएको छ । उता पौड्यालतर्फ ४ सञ्चालकको समर्थन रहेको बुझिएको छ । जिल्लामा प्रभाव रहेको मानिने बागमती प्रदेश संघ, ललितपुर बचत संघ, कृषि, चिया लगायतका विषयगत संघ लगायत धेरै सहकारीकर्मीहरुको समर्थन आफुलाई रहेको गोर्खालीले बताएका छन् ।
उता सहकारी क्षेत्रका प्रशिक्षक रहेका पौड्याल नौलो नाम होइनन् । उनले प्रारम्भिक संस्था, जिल्लादेखि राष्ट्रिय सहकारी महासंघल समेतमा आफ्नो छुट्टै छवि कायम गर्दै आएका छन् ।