भक्तपुर, भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघले आफ्नै नवनिर्मित भवनबाट कारोबार शुरु गरेको छ । कारोबार शुभारम्भ समारोहमा अतिथि नेफ्स्कूनका संचालक घनश्याम अधिकारीले संघ बलियो नभइकन प्रारम्भिक संस्था बलियो हुन नसक्ने भएकाले संस्थाहरूले सहकारी अभियानमै कारोबार गर्नुपर्ने विचार व्यक्त गरे ।
बागमती प्रदेश बचत तथा ऋण सहकारी संघका अध्यक्ष उद्धव सापकोटाले संघले कोषको व्यवस्थापन र परिचालन राम्रो गर्नुको साथै तालिम, शिक्षा र सहकारी अभियानको विकासमा महत्वपूर्ण योगदान पुर्याएको विचार व्यक्त गरे ।
कार्यक्रमका अतिथि जिल्ला सहकारी संघका अध्यक्ष केदार खड्काले संघको नवनिर्मित भवनले सहकारी अभियानमा इतिहास रच्न सफल भएकोमा बधाई दिर्दै सम्पूर्ण संघहरुका लागि उदाहरणीय बन्न सकेकोमा खुशी व्यक्त गरे ।
संघका अध्यक्ष कृष्ण गोविन्द लाखाजुले सभापतित्व ग्रहण गर्दै संघको भवनले संघको कारोबार बृद्धिमा टेवा पु¥याउने जनाए । ‘एक व्यक्ति एक सहकारी’ को अव्यवहारिक नीतिको संशोधनका माथिल्लो संघहरुले भुमिका खेल्नुपर्ने जनाए।
जिल्ला कृषि सहकारी संघका अध्यक्ष सनिस लागेजुले कृषि संघल पनि चिस्यान केन्द्र स्थापनाको लागि पहल गरेको उल्लेख गरे । जिल्ला बहुउद्देश्यीय संघका सचिव देवराज न्यौपानेले जिल्लामा सक्रिय समुदायमा आधारित सहकारी संस्था सबैलाई आवद्ध गर्नुपर्ने विचार व्यक्त गरे।
संघका उपाध्यक्ष हरि बल्ले संघको जग्गा तथा भवन निर्माणको लागि ११९ वटा सदस्य संस्थाहरुबाट १४ लाख ५९ हजार सहयोग प्राप्त भई रु.७८ लाख ९६ हजार निर्माण सम्पन्न गर्न सकेको जानकारी दिए । संघका व्यवस्थापक बालकृष्ण धोजुले संघको संक्षिप्त परिचय दिनुका साथै शुभारम्भमा ४ करोड १२ लाखको कारोबार भएको जानकारी गराए ।