शनिबार, आश्विन १७ गते २०८३

भारतसँगको ब्यापार घाटा न्यूनिकरणमा पहल गर्न परिसंघको माग

चैत्र १०, २०७८ बिहीबार
भारतसँगको ब्यापार घाटा न्यूनिकरणमा पहल गर्न परिसंघको माग

 

भारतका लागि नवनियुक्त राजदूत डा शंकरप्रसाद शर्मासँग नेपाल उद्योग परिसंघले नेपालमा लगानी अभिवृद्धि, नेपाल र भारतबीच सहज विद्युत व्यापार, पर्यटन प्रवर्द्धन र व्यापार घाटा न्यूनीकरणका क्षेत्रमा प्रभावकारी काम अघि बढाउन आग्रह गरेको छ ।

नेपाल र भारतबीचको आर्थिक सम्बन्ध थप विस्तार गर्न नेपालले त्यसबाट अधिकतम लाभ लिने गरी सार्वजनिक निजी साझेदारीमा काम गर्ने वातावरण निर्माणमा ध्यान दिन परिसंघले भनेको हो । 

राजदूत शर्मासँगको भेटमा परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले नेपालमा लगानीको संभावना भए पनि सन्तोषजनक तरिकाबाट भारतीय लगानी भित्रिन नसकेको उल्लेख गरे । उनले अर्थतन्त्रमा अहिले देखिएका असन्तुलन व्यवस्थापनका लागि पनि नेपालले भारतीय पर्यटक, लगानीकर्ता र ठूला कम्पनीलाई नेपालमा आकर्षित गर्न सक्नुपर्नेमा जोड दिए ।

नेपालको सबैभन्दा ठूलो व्यापार साझेदार भारतसँग उच्च व्यापार घाटा भएकाले त्यसको न्यूनीकरणका लागि नेपाली वस्तुको सहज निर्यातमा पनि परिसंघले जोड दिएको हो । 

छलफलमा राजदूत शर्माले लगानी र निर्यात अभिवृद्धिका क्षेत्र पहिचान गरेर सरकार र निजी क्षेत्रले संयुक्तरूपमा काम गर्न सक्ने बताए । उनले दुई देशका निजी क्षेत्रबीच सम्बन्ध विस्तार गरी लगानीमा सहजीकरण गराउनेतर्फ आफूले पहल गर्ने जनाएक थिए