सहकारी विभागले गत वर्ष सार्वजनिक गरेको सहकारी संस्थाको आँकडा वास्तविक नभएको बताइएको छ । सहकारी क्षेत्रको समसामयिक विषयमा गरिएको पत्रकारहरुसँगको अन्तक्रिया कार्यक्रममा बोल्दै राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कँडेलले सहकारीको वास्तविक तथ्यांक आउन नसकेको बताएका हुन् ।
सहकारी विभागले पछिल्लो समय जारी गरेको तथ्यांक अपूरो भएको उनले बताए । कोभिड १९ का बीचमा विभागले तथ्यांक संकलन गरेको र स्थलगत भन्दा पनि टेलिफोनमार्फत तथ्यांक संकलन गरेको हुँदा धेरै सहकारीहरु छुटेको उनको भनाई छ । राज्य र अभियान मिलेर सहकारीको सही तथ्यांक निकाल्नुपर्नेमा उनको जोड छ । ‘करिब ३० हजार सहकारीमा ८८ हजारले मात्रै रोजगारी पाएको भन्ने तथ्यांक पनि पूर्ण छैन’, उनले थपे ‘झापाको नेपाल बहुउद्देश्यी सहकारीमा मात्रै ९३८ जना कर्मचारी छन् । सहारा नेपाल साकोसमा ६०० को हाराहारीमा काम गरिरहेका छन् । एउटा सहकारीले २ जनालाई मात्र रोजगारी दिए मात्रै पनि ६० हजार हुन्छ । त्यसैले तथ्यांक पूर्ण छैन । सहकारीमार्फत १ लाख भन्दा बढिले प्रत्यक्ष रोजगार र अप्रत्यक्ष रुपमा १० लाख भन्दा बढिले रोजगारी पाएका छन् ।’
शहरी क्षेत्रमा सहकारीको संख्या अधिक भएकाले दर्ता गुर्न आवश्यक नभएको भन्दै उनले एकिकरणमार्फत संख्या घटाउनुपर्ने दूरदराजमा भने आवश्यकताका आधारमा संस्था दर्ता गर्न उनले जोड दिए । नियामक निकायले सहकारीलाई सुशासनमा ल्याउन नसकेको समेत उनको भनाई छ । निकायको भूमिका प्रभावकारी हुन नसक्दा सहकारीमा समस्या बढेको उनको जिकिर छ ।
उनले भने बैंकका ब्याज बढ्दा सहकारीको पनि ब्याज बढ्ने छ, बैकको घट्दा सहकारीको पनि घट्ने छ ।
‘हामी ब्याजदर बढाउनुपर्छ भन्ने पक्षमा छैनौ, ‘आफ्ना सदस्यहरुलाई सस्तोमा ऋण दिनुपर्छ भन्ने हो’ अध्यक्ष कँडेलले थपे ‘ बैंकले ब्याजदर घटाएको बेला हामीले १४।७५ प्रतिशत पनि बनाएको हो । अहिले बढेको बेलामा बढेको छ ।’
बढि ब्याजदरको लोभले सदस्यले संस्था खोजी खोजी बचत गर्ने प्रवृत्तिले सहकारीमा समस्या आएको उनले बताए । ‘सदस्यहरु ०.५ प्रतिशत बढि ब्याज कहाँ पाइन्छ भनेर संस्था चहार्दै हिँड्छन् तर संस्था ऐननियम अनुसार चलेको छ कि छैन त्यसको ख्याल गर्दैनन्’ उनले भने, ‘ब्याज बढि भन्दा पनि संस्थाको बारेमा बुझेर मात्रै कारोबार गर्नुपर्छ ।’