मुलुकमा आयतको चाप निरन्तर बढ्दै गएको छ । भुक्तानी असन्तुलन बढाएको भन्दै नेपाल राष्ट्र बैंकले विलासिताका वस्तु लगायन अन्य केहिको आयातमा कडाइ गरेको भएपनि मुलुको ठूलो धनराशि विदेशबाट आउने सामानमा खर्च भइरहेको छ । चालू आर्थिक वर्षको माघ मसान्तसम्म ११ खर्ब ४७ अर्ब ४६ करोड रुपैयाँ बाहिरिएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिभन्दा पछिल्लो अवधिमा वस्तु आयात ४२.७९ प्रतिशतले बढेको हो ।
सात महिनामा कूल वस्तु आयातमा ४२.८ प्रतिशत वृद्धि भएको नेपाल राष्ट्र बैंकको तथ्यांक छ । अघिल्लो वर्षको सोही अवधिमा आयात वृद्धि नगन्य अर्थात् ०.०१ प्रतिशतमात्रै बढेको थियो ।
यस अवधिमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयातमा क्रमश ३०.९ प्रतिशत, ४२.३ प्रतिशत र ८३.८ प्रतिशतले वृद्धि भएको छ ।
पेट्रोलियम पदार्थ, औषधी, कच्चा पाम तेल, कच्चा सोयाबिन तेल, यातायातका साधन तथा पार्टपुर्जा लगायतका वस्तुको आयात बढेको छ भने एमएस बिलेट, रासायनिक मल, सिमेन्ट, दाल, मोलासिस सुगर लगायत वस्तु आयात घटेको छ ।
निर्याततर्फ पनि यस अवधिमा ८८.३ प्रतिशतले वृद्धि भएर १ खर्ब ३१ अर्ब ६६ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ७.६ प्रतिशतले मात्र वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारत तथा अन्य मुलुकतर्फ निर्यात क्रमशः ११३ र २७७ प्रतिशतले वृद्धि भएको छ ।
आर्थिक वर्ष २०७८।७९ को सात महिनामा कूल वस्तु व्यापार घाटा ३८।४ प्रतिशतले वृद्धि भई १० खर्ब १५ अर्ब ८१ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा ०.७ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा निर्यात आयात अनुपात ११.५ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ८.७ प्रतिशत रहेको थियो।
समीक्षा अवधिमा भारतबाट परिवर्त्य विदेशी मुद्रा भुक्तानी गरी १ खर्ब २८ अर्ब १७ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १ खर्ब ४ अर्ब १३ करोड रुपैयाँ बराबरको भएको थियो ।