रुस र युक्रेनबीचको द्वन्दले ती दुई देशका नागरिक मात्र प्रभावित भएको छैन । विश्व बजारलाई नै यसले असर गरेको छ ।
फेब्रुअरी २४ गते रुसले युक्रेनमाथि हवाई, जल र स्थल तीनैतर्फ बाट हमला शुरु गरेपछिको आज १४औं दिन पनि लडाईं जारी छ । यो लडाईंले रुस र युक्रेनमा ज्यान र धनको क्षति त भएको छ नै । ज्यान जोगाउन सीमावर्ती देशहरुमा शरण लिन पुगेका मानिसको भीड थामिनसक्नु बनेको छ । दुई सातामा झण्ड २० लाख मानिस युक्रेनबाट बाहिरिएको तथ्यांक छ ।
तर युद्धमैदानबाट हजारौं माइल टाढा रहेका राष्ट्रहरुमा समेत युद्धका बाछिटा आइपुगेका छन् । मुख्यतया अन्तर्राष्ट्रिय तेल बजार युद्धले प्रभावित बनेको छ । करिब १०० अमेरिकी डलर प्रति व्यारल किनबेच भइरहेको कच्चा पेट्रोलियमको दाम दुई सातामा नै १४० डलर पुगिसकेको छ । यो विगत १४ वर्ष यताकै उच्च मूल्य भएको बताइएको छ ।
युद्ध अन्त्यतिर उन्मुख छ वा छैन अहिलेसम्म त्यसको आँकलन हुनसकेको छैन । दुवै पक्ष मोर्चामा कायम छन् । हतियार बिसाउनेबारे दुवै देशले कुनै संकेत गरेका छैनन् । यस्तो अवस्थामा भारतीय बजारमा ५० रुपैयासम्म पेट्रोलियम पदार्थको मुल्य बढ्न जाने आँकलन गरिएको छ । त्यसैगरी प्राकृतिक ग्यासको प्रमुख आपूर्तिकर्ता रुस भएकोले यदि उसले उत्पादन र आपूर्ति नियन्त्रण गरेमा विश्व बजारमा एलपीजी ग्यासको समेत दाम बढ्ने सम्भावना प्रबल छ ।
कच्चा तेलको दाम प्रतिलिटर १ डलर बढ्दा पेट्रोलमा सालाखाला प्रतिलिटर १ रुपैया वृद्धि हुन्छ । खाना पकाउने एलपीजी ग्यासमा समेत १५० देखि २०० रुपैयासम्म मुल्य बढ्ने अनुमान गरिएको छ ।
पेट्रोलियमको दाम बढ्ना साथ स्थल तथा हवाईमार्गका सवारीको भाडा बढ्न गई यातायात तथा ढुवानीमा १० देखि २० प्रतिशत महँगी बढ्न जाने सम्भावना रहेको छ ।
अर्कोतर्फ दिनप्रतिदिन बढ्दो डलरको मुल्य चिन्ताको विषय बनेको छ । डलरको मुल्य बढ्दा डलरमा खरिद गर्नुपर्ने सामानको मुल्य सटही दरका कारण स्वतः बढि हुने नै भयो ।
नेपाल आयल निगमको तथ्यांकले हाल दैनिक सवा अर्बको रुपैयाको पेट्रोलियम पदार्थ तथा खाना पकाउने ग्यास आपूर्ति भइरहेको छ । आउने दिनमा थप रकम यसमा खर्च हुने निश्चित छ ।
महँगीले सर्वसाधारणको ढाड सेक्ने अवस्था त बन्ने देखिन्छ नै अर्कोतर्फ सामान्य अवस्थामा नै जोखिमपूर्ण रहेको मुलुकको अर्थतन्त्रलाई महँगीको भार थपिँदा ठूलै धक्का दिने त होइन भन्ने आशंका सर्वत्र उब्जिएको छ ।