शुक्रबार, कार्तिक ७ गते २०८३

कास्कुनको आयोजनामा गोष्ठीः  लैंगिक समानता हुनुपर्नेमा जोड

फाल्गुण २४, २०७८ मंगलबार
कास्कुनको आयोजनामा गोष्ठीः  लैंगिक समानता हुनुपर्नेमा जोड

 

काठमाडौं जिल्ला बचत तथा ऋण सहकारी संघले ‘सामाजिक न्याय र लैंङ्गिक समानताः दिगो विकासको सुनिश्चितता’ विषयक गोष्ठी सम्पन्न भएको छ । 

गोष्ठीलाई सम्बोधन गर्दै प्रमुख अतिथि राष्ट्रिय सहकारी महासंघकी बरिष्ठ उपाध्यक्ष एवम् आइसिए ग्लोवल बोर्ड सदस्य ओमदेवी मल्लले राज्यका निर्णायक तहमा अर्थपूर्ण र प्रतिष्पर्धी महिला सहभागिता हुनुपर्नेमा जोड दिइन । अबको महिला सहभागिता क्षमतावान, प्रतिष्पर्धी र प्रमुख निर्णायकको भूमिकामा रहनुपर्ने उनले जनाइन् । 

कास्कूनका अध्यक्ष एवम् नेफ्स्कूनका कोषाध्यक्ष दिपक पनेरुको अध्यक्षतामा आयोजित गोष्ठीको उद्घाटन सत्रमा राष्ट्रिय सहकारी बैंककी सञ्चालक सरिता भट्टराई, नेफ्स्कूनका सञ्चालक मन्दरा मिश्र, काठमाडौं जिल्ला सहकारी संघका अध्यक्ष ज्ञानबहादुर तामाङ, राष्ट्रिय सहकारी महासंघी महाप्रबन्धक चित्रा कुमारी थाम्सुहाङ, काठमाडौं जिल्ला समन्वय समितिकी उपप्रमुख सिता दाहाल, बागमती प्रदेश बचत संघकी सञ्चालक राधा कडरिया लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रममा कास्कूनका सञ्चालक समिति सदस्य, लेखा सुपरीवेक्षण समिति सदस्य, विभिन्न  उपसमिति सदस्यहरु सहित काठमाडौं जिल्लाभरका विभिन्न बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष, सञ्चालक समितिका सदस्य एवम् व्यवस्थापकहरुको उत्साहजनक उपस्थिति रहेको थियो ।

प्रमुख अतिथि मल्लले हरेक क्षेत्रमा महिला सहभागिता बढ्दो रहेपनि अझै महिला पछाडि परेको र अर्थपूर्ण सहभागिता हुननसकेकोमा आफूलाई सँधै पोलिरहने बताइन् । महिलाले पनि सूचना, समय व्यवस्थापन र अध्ययन तीन कुराको व्यवस्थापन सके महत्वपूर्ण जिम्मेवारी लिन सक्ने उनको धारणा थियो । 

कार्यक्रमलाई संबोधन गर्दै कास्कूनका अध्यक्ष पनेरुले हिजोको तुलनामा आज समग्र महिलाहरु हरेक क्षेत्रमा सशक्त रहेको र चेतना स्तर बृद्धि भएको प्रष्ट पारे । महिलाहरुले आज प्रतिष्पर्धालाई स्वीकार्दै राज्यका विभिन्न तहमा र सहकारी क्षेत्रमा पनि निर्णायक सहभागिता सुनिश्चित गर्न दृढ भएर लाग्नुपर्ने उनले बताए । दिगो विकास लक्ष्यका १७ आयामहरुमध्ये करिब ५ बुँदामा सहकारीमार्फत सशक्तिकरण र समानताका विषयहरुलाई अगाडि बढाइएको छ, यसले सामाजिक न्याय र लैङ्गिक समानता मार्फत दिगो विकास सुनिश्चित गर्न सघाउ पुग्ने उनले जनाए । 

कार्यक्रमको दोस्रो र तेस्रो सत्रमा क्रमशः राष्ट्रिय सहकारी बैंककी सञ्चालक सरिता भट्टराई र अधिवक्ता कुमारी खरेलले दुई छुट्टछुट्टै विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।  कार्यक्रमका सहभागी बक्ताहरुले महिलाहरुलाई सहकारीमार्फत उद्यमशीलता प्रवर्धनमा जोड्दै आर्थिक सशक्तिकरण र लैङ्गिक समतामूलक समाज निर्माणका लागि आआफ्नो ठाउँबाट पहल गर्नुपर्नेमा जोड दिएका थिए । गोष्ठीले ७ बुँदे घोषणा जारी गरेको थियो ।