शनिबार, आश्विन १७ गते २०८३

एक संस्था एक सदस्य अव्यवहारिक, व्यवस्था हटाउन प्रदेश सभामा बील पेश

फाल्गुण २२, २०७८ आइतबार
एक संस्था एक सदस्य अव्यवहारिक, व्यवस्था हटाउन प्रदेश सभामा बील पेश

 

 

भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघले बागमती प्रदेश सभामुखलाई प्रदेश सहकारी ऐनमा एक संस्था एक सदस्य सम्बन्धी व्यवस्था संशोधन गर्न माग गरेको छ । संघका अध्यक्ष कृष्णगोविन्द लाखाजुको नेतृत्वमा भक्तपुरका सहकारीकर्मीहरुले आजै सभामुख लाई भेटी सो विषयमा निवेदन दिएका हुन् । बागमती प्रदेशभित्र बसोबास गर्ने १०० जना नागरिकको हस्ताक्षरसहित ३ जना प्रदेश सांसदको सिफारिषमा ऐन संशोधनका लागि प्रदेश सभामा बील पेश हुन सक्ने भएकाले सभामुखमार्फत उक्त विषय अघि बढाउन लागिएको अध्यक्ष लाखाजुले बताए । 

सोही अनुरुप संघले सहकारीमा आवद्ध १०० जना सदस्यको नागरिकतासँगै निवेदन संकलन गरेको र बागमती प्रदेशका नेकपा(एमाले), नेकपा(माओवादी केन्द्र) र नेमकिपाका सांसदले ऐन संशोधनका लागि सिफारिस गरेका छन् । बागमती प्रदेशमा नै यसप्रकारको प्राइवेट बीलको पहिलो अभ्यास हुन लागेको अध्यक्ष लाखाजुले बताए । 

संघले भक्तपुका चारैवटा नगरपालिकामा एक संस्था एक सदस्यका विषयमा छलफल गर्दा सबै नगरपालिकाले संशोधनको आवाज उठाएकाले आफुहरुले तदारुकता देखाएको उनले बताए । ऐनमा भएको यो व्यवस्था अव्यवहारिक भएको भन्दै उनले संशोधन आवश्यक रहेको बताए । बैंक तथा वित्तीय संस्थामा जतिवटामा पनि ग्राहक बन्न पाइने तर सहकारीमा किन नपाइने भन्ने उनको प्रश्न छ । धेरैवटा सहकारीमा बचत गरेकाले संस्थाहरु बिग्रेका होइनन्, धेरै संस्थाबाट सदस्यले ऋण लिएकाले सहकारीमा समस्या आएको हो,’ उनले थपे, ‘अब कालोसूची प्रकाशन, कर्जा सूचना केन्द्र र ऋण असुली न्यायाधिकरणको व्यवस्था लागु गरिनुपर्छ । सदस्यले जतिवटा संस्थामा बचत गरेपनि यसले कसैलाई बेफाइदा नहुने उनको तर्क छ । 

सहकारी ऐन २०७४ ले एक संस्था एक सदस्यको व्यवस्था गरेपछि सहकारीकर्मीहरुले त्यसको विरोध गर्दै आएका छन् । सहकारी ऐन २०७४ को दफा ३२ (१) मा ऐन जारी भएको ३ वर्ष भित्र एकै स्थानीय तहमा एकै प्रकृतिको एकभन्दा बढि सहकारीमा सदस्य रहन नपाउने व्यवस्था रहेको छ । उक्त व्यवस्थाले सर्वसाधारणको मौलिक अधिकार हनन् गरेको भन्दै सहकारीकर्मीले ऐन संशोधनको माग गर्दै आएका छन् । 

त्यसैगरी तालुकदार मन्त्रालयमा पनि संघले ज्ञापनपत्र बुझाउने भएको छ । स्थानीय तह ऐनमा कम्पनीलाई सदस्य बनाउन नपाउने र बनेमा जरिवाना हुने उल्लेख छ भने प्रदेश ऐनमा कम्पनी पनि सदस्य बन्न पाउने व्यवस्था छ । यसले सहकारीकर्मीमा द्विविधा ल्याएकाले संघीय कानुन अनुसार हुनेगरी मिलाउन माग गरिएको हो । त्यसैगरी ऋण लगानी गर्दा जग्गा रोक्कामा ५०० रुपैयाबाट बढाएर ८ हजार रुपैया पुराउँदा यसले सदस्यहरुलाई भार पर्ने हुँदा यथास्थितिमा कायम गर्न समेत माग गरिने र सहकारीहरुबीच गरिने कारोबारमा ब्याजकर लाग्दै आएकाले त्यसलाई मिनाहा गरिनुपर्ने र स्थानीय तहको सिफारिसबिना वित्तीय कारोबार गर्ने गरी दर्ता भएका सहकारीलाई कारवाही गर्न संघले आवाज उठाउँदै आएको छ ।