सहकारी विभागका रजिष्ट्रार रुद्रप्रसाद पण्डितले सहकारीहरुको सन्दर्भ ब्याजदर चार÷चार महिनामा पुनरावलोकन गर्ने तयारी भइरहेको बताएका छन् । बुधबार नेपाल सहकारी पत्रकार समाज (सिजेएन) र सहकारी विभागको संयुक्त आयोजनामा भएको ‘एकिकृत निर्देशन विषयक’ छलफल कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
कार्यक्रमको प्रमुख अतिथि समेत रहेका उनले कार्यक्रममा उठेका जिज्ञासाहरुको जवाफ दिँदै अहिले सहकारी संघ÷संस्थाहरुको सन्दर्भ व्याजदरलाई छिटो–छिटो हेर्नु पर्ने देखिएकोले विभागले त्यसका लागि तयारी थालेको बताए ।
‘दुई÷तीन वर्षदेखि सहकारीको ब्याजदर पुनरावलोकन भएको रहेनछ, अब ४÷४ महिनामा पुनरावलोकन गर्ने किसिमले तयारी भइरहेको छ’, रजिष्ट्रार पण्डितले भने, ‘गत साता मात्रै कायम भएको १६ प्रतिशत व्याजदर तत्कालका लागि हो, नेपाल राष्ट्र बैंकले केही दिनपछि तथ्यांक सार्वजनिक गरेपछि सोही अनुसार हामीले पनि व्याजदर पुनरावलोकन गर्नुपर्ने हुन्छ, बजारको स्थिती अध्ययन गरेर नै हामीले सन्दर्भ व्याजदर निर्धारण गर्ने हो ।’
राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेतीले सहकारीहरुको व्याजदर निधारण वैज्ञानिक नभएकोले स्वचालित ढंगबाट व्याजदर निर्धारण गर्ने प्रणालीको विकास गर्नु पर्ने बताए ।
कार्यक्रममा जिल्ला सहकारी संघ काठमाडौंका अध्यक्ष ज्ञानबहादुर तामाङले सन्दर्भ व्याजदर स्वचालित बनाइनुका साथै सीमा पनि हटाउनु पर्ने तर्क राखे । सहकारी नियमावली सम्सोधन गरेर छिटै सन्दर्भ व्याजदरको क्यापिङलाई आधार दरको रुपमा कायम गर्नु पर्ने उनले बताए ।