जन श्रमिक बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा जोखिममा आधारित साकोस सुरिवेक्षण (कब्र्स) अन्तर्गत ‘९औं कार्यकुलता तथा सिकाई ब्यवस्थापन’ कार्यशाला सम्पन्न भएको छ ।
चन्द्रागिरि नगरपालिका क्षेत्रमा रहेका ७ वटा सहकारीहरु जन श्रमिक, श्री सगरमाथा, युगवाणी, चम्किला तारा, सतुङ्गल, गुर्जुधारा र ध्रुवलक्ष्मी सहकारीहरुको तर्फबाट अध्यक्ष, ब्यवस्थापक, कार्यक्रम संयोजक र प्रतिवेदन प्रस्तोता गरी सबै सहकारीहरुबाट ४–४ जना प्रतिनिधि सहभागी भएका थिए ।
कार्यशालाको उद्घाटन गर्दै कास्कुनका अध्यक्ष दिपक पनेरुले विगत २०७५ भदौ १६ गते देखि हालसम्म निरन्तर रुपमा सञ्चालन हुँदै आइरहेका यस कार्यक्रम बाट सहभागि सहकारीहरुले जोखिमबाट कसरी बच्ने र कसरी दिगोरुपमा सहकारी सञ्चालन गर्ने भन्ने बारेमा ज्ञान हासिल गरी सहकारी अगाडि बढाइरहेकाेमा आफु हर्षित भएको र कार्यक्रममा सहभागि भैरहेका यी सहकारीहरु एकिकरण हुन सकेमा अझै चन्द्रागिरि नगरपालिका भित्र एउटा नमुना सहकारी हुनेछ र यसको लागि सबैले मनन् गर्न सकोस् भन्ने सुझाव दिए ।
नेफस्कुनको प्रतिनिधि सोबिता मैनाली र कास्कुनका प्रतिनिधि नवराज सुवेदीले कार्यशालामा प्रस्तुत सबै सहकारीहरु आर्थिक प्रतिवेदनमाथि भएका उपलब्धी तथा कमी कमजोरी औंल्याई आवश्यक निर्देशन दिएका थिए ।

कार्यक्रमको आयोजक जनश्रमिक साकोसका अध्यक्ष मोतिरत्न अमात्यले उपस्थित सबै प्रतिनीधिहरु सामु निम्न ९ बुँदे अवधारणापत्र पेश छलफल गराएका थिए ।
१. कार्यकुशलता तथा शिकाई ब्यवस्थापन कार्यक्रमले सहभागि सहकारीहरु दिगो र सुचारु संचालनमा टेवा दिइरहेकोले यसलाई निरन्तरता दिइरहनु पर्ने ।
२. कार्यक्रममा सहभागि सहकारीहरुलाई सहकारी संचालनको लागि तरलताको कमी हुन गएमा सहुलियत कर्जाको ब्यवस्था गर्नुपर्ने ।
३. अन्तर– सहकारी कारोवारको लागि प्रोत्साहन गरिनु पर्ने ।
४. सहकारीहरुको पैसा सुरक्षाको लागि एकिकृत रुपमा सहकारीहरु नै सक्षम हुनुपर्ने ।
५. यस कार्यक्रमबाट कुनै पनि सहकारी पछि नहट्न र अन्य सहकारीलाई पनि यस कार्यक्रममा जोड्नको लागि नेफस्कुन तथा कास्कुनले प्रेरणात्मक प्रयत्न जारी राखिनुपर्ने ।
६. कार्यक्रममा सहभागि सहकारीहरुलाई समय सापेक्षतामा आवश्यक निशुल्क तालिम दिइनुपर्ने ।
७. चन्द्रागिरि नगर सहकारी समन्वय समितिलाई सहकारी अभियानमा निरन्तर अगुवाईको भुमिका निर्वाह गर्न गराउन नेफस्कुन र कास्कुनले चेष्टा राखिनुपर्ने ।
८. सञ्चालन भैरहेका कार्यकुशलता तथा सिकाई ब्यवस्थापन कार्यशालाको रुपरेखामा परिमार्जन गरिनुपर्ने ।
९. सहकारी अभियानलाई राज्यले प्राथमिकतामा राख्न दिन अभियान्ताहरुबाट आबश्यक पहलको लागि संभव भएसम्मका सहकारीहरुका परामर्श, राय सल्लाह लिइनुपर्ने ।
उक्त अवधारणापत्र सहभागी अभियन्ता तथा सहकारी प्रतिनिधिहरुले सर्वसम्मत रुपमा पारित गरेका थिए ।