श्री सिलिंङ्गे कृषि उत्पादक सहकारी संस्थाले १४औं स्थापना दिवस मनाएको छ । संस्थाका अध्यक्ष ठाकुरप्रसाद रानाभाटको सभापतित्व एवं जिल्ला सहकारी संघ कास्कीकी अध्यक्ष सावित्रा कोइरालाको प्रमुख आतिथ्यतामा संस्थाले एक औपचारिक कार्यक्रम गरेको हो ।
सो अवसरमा संस्थाले सदस्यहरुलाई बिउबिजन वितरण गर्नुका साथै विभिन्न मठमन्दिरमा २३ वटा डस्टबिन वितरण गरेको जनाएको छ । संस्थाले सदस्यहरुलाई करेला, काँक्रो, सिमी, घिरौला, खुर्सानी, बोडी लगायतका बिउबिजन वितरण गरेको अध्यक्ष रानाभाटले बताए । संस्थाले सदस्यहरुलाई मागको आधारमा ५० प्रतिशत अनुदानमा बीउ उपलब्ध गराउने उनको भनाई छ । संस्थामा १०६३ सदस्य रहेको र त्यसमध्ये २ सय भन्दा बढि सदस्यले तरकारको बीउबिजन माग गरेका छन् ।
संस्थाले यसअघि पनि कृषि ज्ञान केन्द्रको सहकार्यमा सदस्यहरुलाई हाते ट्राक्टर वितरण गर्नुका साथै टनेल निर्माण, कम्पोष्ट मल र भकारो सुधार जस्ता कार्यक्रमहरु सञ्चालन गरिसकेको छ । संस्थाले सदस्यहरुबाट कृषि उत्पादन संकलन गरी विक्रीवितरणका लागि छुट्टै विक्री केन्द्र सञ्चालन गर्ने समेत योजना बनाएको छ । संस्थाले यस अवधिमा २५ करोडमाथिको वासलात बनाउन सफल भएको छ ।
