शनिबार, कार्तिक ८ गते २०८३

ललितपुरमा सहकारी दर्तामा कडाइ, जोखिम विश्लेषणपछि मात्रै नयाँ दर्ता

फाल्गुण ११, २०७८ बुधबार
ललितपुरमा सहकारी दर्तामा कडाइ, जोखिम विश्लेषणपछि मात्रै नयाँ दर्ता

 

ललितपुर महानगरपालिका सहकारी शाखाले सहकारी संस्था दर्तामा कडाइ गरेको छ । महानगरपालिका मातहतमा हाल ३३० वटा संस्था रहेकाले नयाँ संस्था दर्ताका लागि कडाइ गरेको हो । महानगर अन्तर्गत उद्योग तथा सहकारी शाखा प्रमुख देव गुरागाईंले आफूहरुले संख्यात्मक भन्दापनि गुणात्मकतालाई जोड दिएकाले सहकारी दर्ता पूर्णरुपमा रोकिएको बताए । ललितपुर कार्यक्षेत्र बनाएर बागमती प्रदेशमा दर्ता हुन चाहनेहरुलाई पनि आफूले शिफारिष नदिएको र शिफारिष बिना संस्था दर्ता नदिन लेखिपठाएको उनले बताए । 

महानगरपालिकाभित्र जोखिम विश्लेषण गरेर मात्रै संस्था दर्ता दिने उनको भनाई छ । त्यसका लागि शाखासहितको विज्ञ टोलीले अध्ययन गर्ने र त्यसपछि मात्रै संस्था दर्ता खुलाउने वा नखुलाउने भन्नेमा निर्णय लिने उनले बताए । विश्लेषणको काम एकडेढ महिनामा सकिने र त्यसबाट भावी योजनासहितको निष्कर्ष निकालिने छ । 

संस्था दर्ताका लागि जनसंख्याको अनुपात र आवश्यकतालाई समेत हेरिने शाखाले जनाएको छ । एउटै घरमा चारपाँच वटा सहकारीको साइनबोर्ड झुण्ड्याउँदैमा सदस्यहरु समृद्ध नहुने भन्दै गुरागाईंले गुणस्तरीय सहकारी अहिलेको आवश्यकता भएको जनाए । 

उमेर पुगेपछि नागरिकता दिए जसरी जो आए पनि सहकारी दर्ता दिने योजना नरहेको उनले सुनाए । अध्ययन पछि कृषि, श्रमिक र उपभोक्ता जस्ता संस्था आवश्यकताका आधारमा दर्ता दिन सकिने उनको भनाई छ । 

“दिनमा दुईतीन समुह संस्था दर्ता माग गर्दै कार्यालय आउने गरेका छन्,” उनले भने, “दर्ता दिएको भए २ सयभन्दा बढि संस्था थपिइसक्थे । तत्कालिन डिभिजन कार्यालयबाट हस्तान्तरण भएर आएका संस्था मात्रै हामीसँग छन् । महानगरपालिकामा दर्ता नदिएपनि पनि प्रदेशमा दर्ताका लागि शिफारिष दिन ठूलै दवाव आउने गरेको छ ।”

सहकारीका नाममा गलत काम नहोस् भने प्रदेश स्तरमा दर्ताका लागि पनि आफूहरुले शिफासिष नदिएको उनले प्रष्ट पारे । क्षेत्राधिकारका हिसाबले प्रदेश रजिष्ट्रार कार्यालयले संस्था दर्ता दिएपनि व्यवहारिक हिसाबले भने त्यो गलत भएको उनको ठम्याई छ । अधिकांश सहकारीका सञ्चालक बाहिर जिल्लाका रहेको र संस्था खोलेर सहकारीको बचत लिएर भाग्ने प्रवृत्तिले सहकारी आन्दोलनमा नै समस्या ल्याएको उनको बुझाई छ ।