सन्दर्भ ब्याजदर पुनरावलोकनका लागि पटकपटक लिखित तथा मौखिक अनुरोध गर्दा समेत सम्बन्धित निकायले कुनै चासो नदेखाएपछि सहकारीकर्मीहरुले फरक रणनीति अपनाएका छन् ।
बैंक तथा वित्तीय संस्थाले निक्षेपमा दिने ब्याज निरन्तर बढाउँदै लैजाँदा त्यसको प्रभाव सहकारी क्षेत्रमा परेको भन्दै सन्दर्भ ब्याजदर नबढाए सहकारी क्षेत्रको पैसा बाहिरिँदा संस्थाहरुमा तरलताको चाप चुलिँदै गएको भएको भन्दै उनीहरुले जिल्ला प्रशासन कार्यालयमा समेत हारगुहार गरेका छन् ।
सहकारीमन्त्री शशि श्रेष्ठ ब्याजदर बढाउने विषयमा सकारात्मक नदेखिएपछि सहकारी संघसंस्थालाई निकै सकस परेको छ । सन्दर्भ ब्याजदरका कारण बचतमा दिने ब्याज बढाउन नसक्दा संघसंस्थाहरुको पैसा बाहिरिएको सहकारीकर्मीहरुको भनाई छ । यसैबीच ललितपुरमा रहेका सहकारीका छाता संघगठनहरुले जिल्ला प्रशासन कार्यालय ललितपुरमा ज्ञापन पत्र बुझाएका छन् ।
वित्तीय बजारमा उतारचढाव हुँदा बैंक तथा वित्तीय संस्थामा तरलताको अभाव हुनगइ उनीहरुले दिने ब्याजमा वृद्धि गरेसँगै हाल कायम रहेको १४.७५ सन्दर्भ ब्याजदरका कारण सहकारीहरुको सम्पत्ति तथा दायित्व व्यवस्थापनमा चुनौति थपिएको भन्दै सहकारी संघसंस्थाले बचतमा दिने ब्याज वृद्धि गर्नु परेकोले सन्दर्भ ब्याजदर वृद्धि गर्न उनीहरुको माग रहेको छ ।
ललितपुर जिल्ला सहकारी संघ, बचत संघ, बहुउद्देश्यीय संघ, कृषि सहकारी संघ, तरकारी फलफूल संघका प्रतिनिधिहरुले प्रमुख जिल्ला अधिकारीलाई भेटी विषम परिस्थितिमा सन्दर्भ ब्याजदर १७ प्रतिशत पुर्याउनुपर्ने माग गरेका हुन् ।
त्यसैगरी सहकारी ऐन र नियमावलीमा भएको सन्दर्भ ब्याजदर अव्यवहारिक भएको भन्दै खारेज गर्नुपर्ने उनीहरुले माग गरेका छन् । उनीहरुले ६ प्रतिशतको स्प्रेड दर कायम गरी ब्याजदरलाई स्वचालित बनाउन वा आधार ब्याजदरमा बढिमा ५ प्रतिशत प्रिमियम थप गरी ऋणको ब्याजदर बनाउन उनीहरुले माग गरेका छन् । ती व्यवस्था नहुँदासम्म हाललाई १७ प्रतिशत ब्याजदर तोकिनुपर्ने उनीहरुको माग छ ।
ब्याजदर पुनरावलोकनको प्रक्रिया यथाशीघ्र निष्कर्षमा पुर्याउन राष्ट्रिय सहकारी महासंघ लगायत केन्द्रीय र विषयगत संघसंस्थाहरुले भूमिका बढाएका छन् ।