शनिबार, आश्विन १७ गते २०८३

तरलता अभावसँग जुझ्न ६ महिनाकै अवधिमा ३३६६ अर्बको रिपो जारी

फाल्गुण ६, २०७८ शुक्रबार
तरलता अभावसँग जुझ्न ६ महिनाकै अवधिमा ३३६६ अर्बको रिपो जारी

 

आर्थिक वर्ष २०७८/७९ को पहिलो ६ महिनामा नेपाल राष्ट्र बैंकले ३३ खर्ब ६६ अर्ब तरलता वित्त बजारमा प्रवाह गरेको छ । चालु आर्थिक वर्षको भदौ महिनादेखि नै बैंक तथा वित्तीय संस्थाले बजारमा तरलता अभाव झेल्दै आएका छन् । बजारमा तरलता अभाव व्यवस्थापन गर्नको लागि यसबीचमा नेपाल राष्ट्रबैंकले पटकपटक तरलता प्रवाह (रिपो) जारी गरिसकेको छ ।

खुला बजार कारोबारका विभिन्न उपकरणहरुमार्फत रु.३५१ अर्ब ७ करोड र स्थायी तरलता सुविधामार्फत रु.३०१५ अर्ब ८९ करोड गरी कुल रु.३३६६ अर्ब ९६ करोड तरलता प्रवाह गरिएको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा उल्लेख छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा राष्ट्र बैंकले रिपो जारी गरेको थिएन । 

त्यसैगरी चालु आर्थिक वर्षको पहिलो महिनामा रिभर्स रिपोमार्फत रु.२८ अर्ब ३५ करोड र निक्षेप संकलन उपकरणमार्फत रु.३१ अर्ब ६५ करोड गरी कुल रु.६० अर्ब तरलता प्रशोचन गरिएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा रु.२४१ अर्ब ३४ करोड तरलता प्रशोचन गरिएको थियो । 

समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप परिचालनको तुलनामा कर्जा विस्तार उच्च रहेकोले तरलता व्यवस्थापनमा दबाब परेको राष्ट्र बैंकको निष्कर्ष छ । तसर्थ, आन्तरिक एवम् वाह्य क्षेत्र सन्तुलन कायम राख्न सीमित वित्तीय साधनलाई उत्पादन अभिवृद्धि, रोजगारी सिर्जना र उद्यमशीलता विकासका क्षेत्रमा परिचालन गर्न जोड दिनुपर्ने उसले औंल्याएको छ । 

चालु आर्थिक वर्षको ६ महिनामा आर्थिक पुनरुत्थानसँगै आयातमा पनि उल्लेख्य वृद्धि भएको छ । निर्यातको वृद्धिदर उच्च रहेतापनि यसको आधार सानो भएकाले व्यापार घाटाको आकार बढेको छ । यस अवधिमा विप्रेषण आप्रवाहमा समेत संकुचन आएकाले शोधनान्तर स्थिति घाटामा रहनुको साथै विदेशी विनिमय सञ्चिति घटेको छ । 

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि हुनुको साथै उपभोग्य वस्तुको मूल्यमा समेत वृद्धि भएको छ । तसर्थ, नेपालमा पनि हाल मूल्यमा चापको स्थिति रहेको छ । यो प्रवृत्ति कायम रहेमा मुद्रास्फीतिलाई लक्षित सीमाभित्र राख्ने कार्य चुनौतीपूर्ण हुने मौद्रिक नीतिको समीक्षामा उल्लेख गरिएको छ । 

कोभिड–१९ महामारीबाट मानव जीवन र आर्थिक गतिविधि प्रभावित भइरहेको अवस्थामा समष्टिगत आर्थिक तथा वित्तीय स्थायित्व कायम राख्दै अर्थतन्त्रको पुनरुत्थानमा सघाउ पु¥याउने मुख्य उद्देश्यका साथ आर्थिक वर्ष २०७८÷७९ को मौद्रिक नीति २०७८ साउन २९ गते सार्वजनिक गरिएको थियो । 

मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामा कोभिड–१९ संक्रमण दर कम हँुदै गएसँगै आर्थिक गतिविधि विस्तार भइरहेकोेमा नयाँ भेरियन्टको कोभिड संक्रमण देखापरिरहेको हुँदा स्वास्थ्य सावधानी अपनाउदै आर्थिक क्रियाकलापहरु सुचारु राख्नुपर्ने अवस्था रहेको जनाइएको थियो ।