शुक्रबार, कार्तिक ७ गते २०८३

ललितपुर महानगरपालिकाले शुरु गर्‍यो सहकारीलाई क्षमता अभिवृद्धि तालिम 

फाल्गुण ५, २०७८ बिहीबार
ललितपुर महानगरपालिकाले शुरु गर्‍यो सहकारीलाई क्षमता अभिवृद्धि तालिम 

 

ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघले लेखा सुपरीवेक्षणको क्षमता अभिवृद्धिका लागि आजबाट दुई दिने तालिम शुरु गरेको छ । ललितपुर महानगरपालिका सहकारी शाखाको आयोजना तथा संघको संयोजनमा निःशुल्क तालिम शुरु भएको हो । 

तालिमको उद्घाटन ललितपुर महानगपालिकाका सहकारी तथा उद्योग शाखा प्रमुख देव गुरागाईंले गरेका थिए । कार्यक्रमको उद्घाटन गर्दै गुरागाईंले सहकारीका सञ्चालक, लेखा समिति तथा व्यवस्थापकहरुको क्षमता अभिवृद्धि गरी संस्थाहरुमा सुशासन कायम गर्न तालिमको आयोजना गरिएको बताए । 

महानगरपालिका भित्र रहेका १२० वटा सहकारीका लेखा समिति संयोजकलाई ३० जनाका दरले ४ पटक दुईदिने तालिम दिइने भएको छ । 

संघले योसँगै दोस्रो तालिम फागुन १२ र १३ गते, तेस्रो तालिम फागुन १९ र २० गते र चौथो तालिम फागुन २६ र २७ गते संचालन गर्ने भएको छ । संघका व्यवस्थापक सन्तोष बजगाईंले महानरपालिकासँगको समन्वयमा संघले विभिन्न तालिम दिन लागेको बताए । पहिलो चरणमा लेखा समिति, दोश्रो चरणमा संस्थाका सञ्चालक र तेश्रो चरणमा व्यवस्थापहरुलाई तालिम दिइने जनाए । 

संघले तालिमका लागि संयोजन मात्र गरेको सम्पूर्ण व्यवस्थापन भने महानगरपालिकाको रहेको उनले बताए । हरेक तालिममा १२० वटा सहकारी संस्थालाई सहभागि गराइनेछ । लेखा समितिलाई सक्रिय बनाउँदा संस्थाहरुको आन्तरिक सुशासन बलियो हुने भएकाले पहिलो चरणको तालिम लेखासमितिबाट शुरु गरिएको उनको भनाई छ । हरेक साताको बिहिबार र शुक्रबार तालिम हुने हुँदा ईच्छुक संस्थाले तालिममा सहभागि हुन संघमा जानकारी पठाउन समेत उनले आव्हान गरे । 

तालिम संघको भवनबाटै सञ्चालन भइरहेको छ ।