सहकारी संस्थाले सदस्यको बचत फिर्ता गर्न आलटाल गरेपछि काठमाण्डौ महानगरपालिका सहकारी विभागले ३२ वटा संस्थालाई कारवाहीका लागि प्रहरीमा लेखिपठाएको छ । ३२ सहकारी संस्थाका १४०१ बचतकर्ताले बचत फिर्ता नपाएको गुनासो विभागमा दिएका थिए ।
विभागले पटकपटक ती संस्थाका सञ्चालकहरुलाई सदस्यको बचत फिर्ता गर्नका लागि ताकेता गर्दा पनि आनाकानी गरेपछि कारवाहीका लागि प्रहरीमा लेखिपठाएको विभागकी उपनिर्देशक विमला कोइरालाले नेपालपत्र न्यूजलाई जानकारी दिइन् । विभागमा ती सहकारी संस्थाका सदस्यहरुले विभिन्न समयमा बचत फिर्ताका लागि पहल गरिदिन निवेदन दिएका थिए । प्रहरीमा उजुरी लेखाइएका सहकारीहरुमध्ये आनन्दनगर साकोसका सबैभन्दा बढि सदस्य रहेका छन् । सो सहकारीका १०४९ सदस्यको १४ करोड ६० लाख ८६ हजार रकम सञ्चालकले हिनामिना गरेको सदस्यले उजुरी गरेका छन् ।
त्यसैगरी जनजीविका साकोसले ३५ करोड १९ लाख १४ हजार, स्वतन्त्र शान्ति साकोसले २ करोड ५८ लाख ९३ हजार, बिजनेस साकोसले २ करोड ५८ लाख रकम हिनामिना गरेको उजुरी परेको छ । सदस्यहरुको बचत हिनामिना गर्ने अधिकांश सहकारीहरु बचतऋण रहेका छन् ।
विभागकी उपनिर्देशक कोइरालाले सहकारी संस्थाहरुको समस्या समाधानका लागि आफूहरुले हदैसम्म प्रयास गरेको बताउँछिन् । प्रहरीलाई लेखिपठाउनुपूर्व ती संस्थाका सञ्चालकलाई विभागमा सम्पर्क गर्न पटकपटक गरी ३ महिनाको समय दिएको, त्यो समयभित्र पनि सम्पर्कमा नआउने संस्थाहरुलाई भने बाध्य भएर ठगी मुद्दामा कारवाहीका लागि प्रहरीकहाँ पठाउने गरेको उनले बताइन् । हिरासतमा बस्नुपर्ने र सामाजिक प्रतिष्ठा गुम्ने डरले कतिपय संस्थाहरुले प्रहरीमा उजुरी परेपछि सदस्यको पैसा फिर्ता गर्ने प्रवृत्ति देखिएको उनले बताइन् । विभागमा ससानो बचत नपाएको गुनासो बढिजसो आउने गरेको छ ।
विभागले सम्भव भएसम्म कार्यालयबाटै समस्या समाधान गर्नका लागि पहल गर्दै आएको समेत उनले जनाइन् । विभागले हालसम्म ५० वटा संस्थालाई कार्यालयबाटै मिलापत्र गराएको छ । विभागले ऋणीहरुबाट पैसा उठाइदिने र बचतकर्तालाई रकम फिर्ता गर्न समेत सघाउँदै आएको छ । संस्थाहरुले सन्दर्भ ब्याजदरभन्दा बढि ब्याजमा ऋण लगानी गरेको भेटिएमा सन्दर्भ ब्याजदर कायम गरी ऋण असुली गरी बचतकर्तालाई फिर्ता गर्ने गरेको र हालसम्म ४० लाखको हाराहारीमा ऋण असुली गरी पीडित बचतकर्तालाई फिर्ता दिलाएको उनले बताइन् ।
कोभिड १९ को समयमा संस्थाहरुले बचत फिर्ता दिन नसकेको भन्दै धेरै उजुरी परेपनि अहिले उजुरी कम हुँदै गएको विभागले जनाएको छ । कोभिड सामान्यतर्फ उन्मुख हुँदै जाँदा बजार चलायमान भएकाले अहिले संस्थाहरुले सदस्यहरुको बचत फिर्ता गर्न थालेको उपनिर्देशक कोइराला बताउँछिन् ।
सहकारीहरुले अनुत्पादक क्षेत्रमा अधिक लगानी गर्नुका साथै कोभिड १९ का कारण बजार चलायमान हुन नसक्दा समयमै ऋणको साँवाब्याज असुली नहुँदा धेरै समस्या देखिएको उनको भनाई छ ।
कोभिडले वास्तविक रुपमा अप्ठेरोमा परेका संस्थाहरुका लागि भने विभागले समेत सहजिकरण गर्दै आएको छ । विभागले संस्थाका सञ्चालक र सदस्य दुवै पक्षलाई राखेर संस्थाको अवस्था बुझी क्रमशः ऋण असुली गरी सदस्यहरुलाई बचत फिर्ता गर्ने बातावरण समेत मिलाउँदै आएको छ ।
काठमाण्डौ महानगरपालिका अन्तर्गत १८०० भन्दा बढि सहकारी रहेपनि ८५० संस्थाले मात्रै कारोबार अद्यावधिक गराएका छन् ।