सरकारले चालु आबको बजेटको आकार घटाएको छ। सरकारले बजेटको आकार ८६ अर्ब रुपैयाँले घटाएको हाे। अर्थमन्त्री जनार्दन शर्माले स्रोत सुनिश्चितता नहुँदा बजेटको आकार घटाउनु परेको तर्क गरे।
आज मन्त्रालयमा चालु वर्षको बजेटको अर्द्धवार्षिक समीक्षा गर्दै शर्माले पुँजीगत खर्च तीन खर्ब ४० अर्ब हुने अनुमान प्रस्तुत गरे। चलु वर्षको बजेटमा खर्च ३ खर्ब ७८ अर्ब १० करोड रुपैयाँ हुने उल्लेख गरिएको थियो।
अर्थमन्त्री शर्माले चालु वर्षको बजेटमा चालु खर्च ६ खर्ब ७७ अर्ब, पुँजीगत खर्च ३ खर्ब ७८ अर्ब १० करोड रुपैयाँ, वित्तीय व्यवस्थापन एक खर्ब ८९ अर्ब ४४ करोड र प्रदेश तथा स्थानीय तहमा जाने खर्च ३ खर्ब ८७ अर्ब ३० करोड रुपैयाँ छुट्याएका थिए।
राजस्व १० खर्ब ५० अर्ब ८२ करोड र वैदेशिक अनुदानबाट ५९ अर्ब ९२ करोड रुपैयाँ छुट्याएको छ। वैदेशिक ऋण २ खर्ब ८३ अर्ब ९ करोड र आन्तरिक ऋण २ खर्ब ३० अर्ब रुपैयाँ उठाउने लक्ष्य राखिएको थियो।
चालु वर्षको बजेट संवैधानिक प्रावधान अनुसार जेठ १५ मा तत्कालिन अर्थमन्त्री विष्णु पौडेलले ल्याएका थिए। उनको भन्दा १५ अर्ब घटाएर शर्माले भदौ २५ गते प्रतिस्थापन विधेयक ल्याएका थिए।
चालु वर्ष सरकार १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँ बजेटको आकार तय गरेको थियो। यसलाई पनि घटाएर शर्माले १५ खर्ब ४६ अर्ब रुपैयाँमा झारेका छन्। कमजोर विकास खर्चका कारण बजेट संशोधन गरिएको हो।