प्रस्तावित नेपाल सहकारी बैंक लिमिटेडको अवधारणापत्र र सम्भाब्यता अध्ययनको विषयमा नेपाल राष्ट्र बैक समक्ष प्रस्तुत गरिएको छ । प्रस्ताबित बैकका तदर्थ सञ्चालक समितिका अध्यक्ष सुरेन्द्र भण्डारीले गभर्नर महाप्रसाद अधिकारी, डेपुटी गभर्नर लगायत बैंकका उच्च अधिकारी समक्ष अवधारणा प्रस्तुत गरेका हुन् ।
नेपाल राष्ट्रबैंकमा आयोजित कार्यक्रममा नेपाल राष्ट्रबैंकले तोके अनुसारको सबै प्रकृया पुरा गरी प्रस्ताव तयार गरेको उल्लेख गरे । एउटामात्र बैंकले करिब ३० हजार सहकारीको कारोबार र अन्य आर्थिक क्रियाकलाप गर्न नसक्ने भएपछि नेपाल सहकारी बैक दर्ता प्रकृया शुरु गरेको जानकारी दिए ।
कार्यक्रममा प्रस्तावित बैकका प्रमुख सल्लाहकार एवं आनन्द ढुंगानाले प्रस्तावित बैक अपरिहार्य रहेको उल्लेख गर्दै दर्ता प्रकृया अबिलम्ब अघि बढाउन आग्रह गरेका थिए । सो अवसरमा नेपाल राष्ट्र बैकका गभर्नर अधिकारीले प्रकृया अघि बढाइने आश्वासन दिए। उनले भने ‘प्रस्तावित बैंकले आफ्नो प्रकृया पुरा गरी अवधारणाबारे जानकारी गराएको छ, अब नेपाल राष्ट्रबैकले प्रकृया अघि बढाउनेछ ।’
साढे दुई अर्ब रुपियाँ चुक्ता पुँजी प्रस्ताव गरिएको नेपाल सहकारी बैंक सञ्चालनमा आएपछि यसलाई देशव्यापीरुपमा विस्तार गरिने जनाइएको छ ।
सहकारी ऐन २०७४ को दफा १२ मा सहकारी बैंकले संस्था वा संघको बचत स्वीकार गर्ने, त्यस्तो संस्था वा संघलाई ऋण प्रवाह गर्ने वा बैंकिंग सेवा उपलब्ध गराउने उद्देश्य लिई सस्था वा सङ्घ आपसमा मिली नेपाल राष्ट्र बैंकबाट पूर्व स्वीकृति लिई सहकारी बैङ्कहरू गठन गर्न सकिने व्यवस्था गरेको छ ।
सहकारी ऐन २०७४ र सहकारी नियमावली २०७५ ले स्पष्ट व्यवस्था गरे अनुसार बैंक दर्ता प्रृकया शुरु भएको हो । सहकारी ऐन र नियमावलीमा भएको व्यवस्था अनुसारको प्रकृयाहरु पुरा गरे पछि सहकारी विभागमा दर्ता गरी नेपाल राष्ट्र बैंकको अनुमति लिएर बैंकिङ कारोबार सुरुवात गर्ने प्रावधान रहेको छ । सोही प्रावधान अनुसार बैंक दर्ता प्रकृया अन्तिम चरणमा पुगेको अध्यक्ष भण्डारीले जानकारीले दिए ।
कार्यक्रममा बैंक तदर्थ सञ्चालक समितिका सञ्चालक सीताराम काफ्ले, डा. ज्ञानेन्द्रप्रसाद पौडेल, माधव दुलाल, पुष्पबहादुर पौडेल र चार्टर्ड एकाउन्टेन अनिल पौडेल लगायतको उपस्थिति रहेको थियो ।