गैरआवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचन यथाशीघ्र गरी नेतृत्व चयन गर्न माग गरिएको छ ।
गत वर्षको जुलाई ३१ भित्रै ६४ एनसीसीको निर्वाचन सम्पन्न भई आइसीसी महाधिवेशनका लागि प्रतिनिधिहरुको टुंगो लागिसकेको अवस्थामा नेत्तृत्व चयन हुन नसक्नु दुखःद भएको भन्दै अध्यक्ष पदका प्रत्याशी डा. बद्री केसीले एक विज्ञप्ति प्रकाशित गरी तत्काल निर्वाचनकाे बातावरण बनाउन माग गरेका हुन् । १०औँ महाधिवेशन तथा अन्तर्राष्ट्रिय सम्मेलन सम्बन्धमा चौतर्फी चासो एवं चिन्ता व्यक्त भइरहेको र अथक प्रयत्न र हदैसम्मको लचकता अपनाउँदा पनि बातावरण अन्योलपूर्ण सहनु दुःखद भएकाे उनले जनाएका छन् ।
यस बीचमा महाधिवेशन प्रतिनिधिका विषयमा केही एनसीसीमा देखिएको असन्तुष्टिले वर्तमान असहज अवस्था सिर्जना भएको तर यस परिस्थतिलाई सहज बनाउन र असन्तुष्टि समेत सम्बोधन भइसकेकोको अवस्थामा पनि निर्वाचनलाई अनिर्णयको बन्दी बनाइराख्नु न्यायोचित नभएको केसीको भनाई छ ।
पाटन उच्च अदालतले यस अघिका प्रक्रियालाई विधिविधानसम्मत भनिसकेको र त्यस उपरान्त पनि संघका अध्यक्ष कुमार पन्तद्वारा गठित ५ सदस्यीय समितिले जनवरी महिनाको पहिलो साता पनि सबै पक्षसँग छलफल गरी ७ बुँदे सहमति भएको जनाइएको छ ।
त्यसैगरी आइसीसी बैठकको निर्णय, विधान व्याख्या समितिको निर्णय,र पछिल्लो पटक संरक्षक शेष घले नेतृत्वको उच्चस्तरीय समितिले गठन गरेको कार्यदलले तयार पारेको प्रतिवेदनले समेत प्रतिनिधि छनोट वैधानिक भएको आधारहरु पुष्टि गरिसकेको छ ।
सबै आधारहरु जुटेको अवस्थालाई समेत वेवास्ता गरी, पटक पटक निर्वाचनलाई अन्योलपूर्ण बनाएर विधि,पद्धत्ति, वैधानिक व्यवस्था विपरित मार्गमा जानु उचित नएभको जनाइएको छ ।
संघको १० औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी २८ तारिखमा सम्पन्न गर्न सम्पूर्ण आन्तरिक तयारी पुरा भइसकेको अवस्थामा पनि विभिन्न प्राविधिक समस्या देखाएर निर्वाचन गर्न नदिनुपर्ने कुनै आधार नभएको डा. केसीको भनाई छ ।
संघलाई वैधानिक रुपमा अघि बढाउन पनि निर्वाचनको विकल्प छैन । त्यसैले संघको निर्वाचनलाई सुनिश्चित गर्न निर्वाचनको कार्यतालिका प्रकाशन गर्न निर्वाचन समिति समक्ष उनले माग गरेका छन् ।
महाधिवेशन प्रतिनिधिमा देखा परेको असन्तुष्टि सम्बोधन गर्न यसअघि गठित घले नेतृत्वको उच्चस्तरीय समितिले गठन गरेको कार्यदलको समेत समयावधि सकिसकेको हुँदा तत्काल आइसीसी कार्यसमितिको बैठक बोलाई थप निर्णय गर्न समेत उनले आग्रह गरेका छन् ।