शनिबार, आश्विन १७ गते २०८३

“यसै आर्थिक वर्षबाट डिजिटल करेन्सी जारी गर्छौं” : भारतीय वित्तमन्त्री सीथारमन

माघ १८, २०७८ मंगलबार
“यसै आर्थिक वर्षबाट डिजिटल करेन्सी जारी गर्छौं” : भारतीय वित्तमन्त्री सीथारमन

 

भारतीय वित्तमन्त्री निर्मला सीथारमणले भारतको आफ्नै डिजिटल मुद्रा सञ्चालनमा ल्याउने घोषणा गरेकी छिन् । आज भारतीय संसदमा आर्थिक वर्ष २०२२–२३ को बजेट  प्रस्तुत गर्दै उनले यो जानकारी दिएकी हुन् । मुद्राको नाम ‘डिजिटल रूपी’ हुने उनले जनाइन् । 

आफ्नो बजेट भाषणमा, वित्त मन्त्री सीथारमणले ब्लकचेन र अन्य प्रविधिहरू प्रयोग गरेर डिजिटल रुपैया जारी गरिने घोषणा गरेकी हुन्। यसलाई भारतीय रिजर्व बैंकले आर्थिक वर्ष २०२२–२३ देखि जारी गर्नेछ। यसले अर्थतन्त्रलाई महत्त्वपूर्ण बृद्धि गर्ने वित्तमन्त्री सीथारमणले जनाइन् । 

रिजर्भ बैंक अफ इन्डियाले पहिलो डिजिटल करेन्सी लन्च गर्न लागेको जानकारी केहि समयअघि दिएकाे थियाे । विभिन्न चरणमा रिजर्भ बैंकले यसकाे परीक्षण गरिरहेकाे छ ।

चीन, युरोप र अमेरिकाका केन्द्रीय बैंकहरु अहिले डिजिटल करेन्सीको परीक्षणका क्रममा छन्। भारतमा भने यसलाई डिजिटल रुपीको नामको दिइएको छ। ‘डिजिटल करेन्सी आरबीआईका लागिमात्रै नभई सम्पूर्ण विश्वका लागि नयाँ प्रडक्ट हुनेछ । 

आरबीआईले डिजिटल करेन्सीको सुरक्षा, यसले भारतको वित्तीय क्षेत्रमा पार्ने प्रभाव र देशको मुद्रा प्रवाह र मौद्रिक नीतिमा पार्ने प्रभावका बारेमा अध्ययन गरिरहेको छ । 

नगद कारोबारमा आएको कमी र बिटक्वाइनलगायत डिजिटल करेन्सीप्रति आममानिसहरुको बढेको रुचिका कारण विगत केही वर्षदेखि विश्वका केन्द्रीय बैंकहरुले आफ्नै डिजिटल करेन्सी प्रयोगमा ल्याउन अग्रसर भइरहेका छन्।