शुक्रबार, कार्तिक ७ गते २०८३

“सहकारीका सदस्यले मोबाइल बैंकिङको प्रयोग बढी रुचाएका छन्”

माघ १३, २०७८ बिहीबार
“सहकारीका सदस्यले मोबाइल बैंकिङको प्रयोग बढी रुचाएका छन्”

बदलिँदो समय र परिस्थतिसँगै सहकारीहरुले पनि आफ्नो सेवालाई प्रविधिमैत्री बनाउँदै लगेका छन् । प्रतिस्पर्धी वित्तीय बजारमा प्रविधिमैत्री सेवाको माग बढ्दै गएको छ भने प्रविधिलाई अँगाल्न नसक्ने संस्थाहरुप्रति सदस्यहरुको आकर्षण पनि घट्दो छ । बजारमा टिक्न र आफ्ना सदस्यलाई सहज वित्तीय सुविधा उपलब्ध गराउन त झन् प्रविधिको विकल्प नै देखिएन । कोभिड १९ महामारीले त झन् यसको प्रयोगलाई व्यापकता दियो । ससाना वित्तीय कारोबार पनि डिजिटल माध्यमबाट हुन थाले । जसले गर्दा समुदायमा स्थापित भएका र ठूला सहकारीहरुले त नयाँ प्रविधि नअपनाइ सुखै भएन । सहकारी क्षेत्रमा प्रविधिको प्रयोगका विषयमा नेपालपत्रन्यूजले विभिन्न संघ तथा संस्थाका प्रमुखसँग संक्षिप्त कुराकानी गर्दै आएका छौं । यसै क्रममा काभेपलाञ्चोकका पनौतिमा रहेको सामुदायिक साकोसेका प्रमुख कार्यकारी अधिकृत मदन बस्नेतसँग संस्थाले प्रयोगमा ल्याएका प्रविधि र त्यसको प्रभावकारिताको विषय यहाँ प्रस्तुत गरेका छौं । 

 

सामुदायिक साकोसले के कस्ता प्रविधि सञ्चालनमा ल्याएको छ ?

हामीले मोबाइल बैंक प्रयोगमा ल्याएका छौं । मोबाइल बैंकिङ २०७४ सालबाट शुरु गरेका हौं । त्यसको प्रयोगबाट सदस्यले आफ्नो खातामा भएको रकम ट्रान्सफर तथा भुक्तानी गर्नुका साथै विभिन्न युटिलिटी पेमेन्ट गर्न सक्छन् । मोबाइल बैंकिङलाई सदस्यहरुले राम्रो रुपमा उपयोग गरिराखेका छन् । ७५ सालदेखि एससीटी नेटवर्कमा आवद्ध भएर एटिएम सर्भिस पनि हामीले दिइराखेका छौं । एउटा एटिएम मेशिन समेत सञ्चालनमा रहेको छ । एटिएम पनि प्रभावकारी रुपमा नै सञ्चालन भइराखेको छ । एसससीटी नेटवर्क र युनियन पे को नेटवर्क भित्र चल्ने हुँदा धेरै सदस्यले एटिएमको प्रयोग गर्दै आएका छन् ।  कोभिड १९ का कारण सरकारले गरेको बन्दाबन्दी पछि भने मोबाइल बैंकिङको प्रयोग बढेको छ । सदस्यहरुले आफ्नो खाताबाट वाणिज्य बैंकहरुमा पनि रकम ट्रान्सफर गर्न सक्छन् । रकम ट्रान्सफर सुविधाले गर्दा पनि मोबाइल बैंकिङ्गको प्रयोग बढेको हो । 

संस्थामा आवद्ध सदस्यमध्ये कति सदस्यले डिजिटल प्रविधि प्रयोग गर्दै आएका छन ?

मोबाइल बैंकिङ १० प्रतिशत सदस्यले प्रयोग गर्दै आएका छन् । ग्रामीण भेगमा हामीले सेवा दिँदै आएकाले कतिपय सदस्यहरुले मोबाइल बैंकिङ र एटिएम सेवा सञ्चालन गर्न जान्दैनन् । सञ्चालन गर्न सक्ने सम्भावित सदस्यको संख्या ३० प्रतिशत देखिन्छ । युवा पुस्ताले नै प्रविधि प्रयोग गर्न बढी रुचाउँछन् । 

प्रविधि प्रयोगको विषयमा पनि सदस्यहरुलाई प्रशिक्षित गर्दै आउनु भएको छ कि ?

हामीले सदस्य शिक्षा कार्यक्रममार्फत सदस्यहरुलाई प्रविधि प्रयोगका बारेमा पनि जानकारी गराउँछौं । सदस्यहरुको मोबाइलमा एप इन्स्टल गरिदिनेदेखि चलाउने तरिका पनि सिकाउँछौं । हामीले प्रयोगमा ल्याएका प्रविधिहरु सदस्यमैत्री नै छ । सामान्य अँग्रेजी भाषा जान्ने हरुले सहज रुपमा नै सेवा लिन सक्छन् । 

कोभिड १९ पछि सहकारी क्षेत्रमा डिजिटल प्लाटफर्मको प्रयोगमा वृद्धि भएको हो ?

यस बीचमा अधिकतम् वृद्धि भएको छ । कोभिड कारण बन्दाबन्दी हुँदा र नोटले समेतले रोग सर्छ भन्ने भएपछि धेरैले डिजिटल प्रविधिलाई प्रयोगमा ल्याउन थाले । पछिल्लो समयमा क्युआर कोडको प्रयोग पनि दिनप्रतिदिन बढ्दै गएको छ । हामीले पनि संस्थाको एपबाट क्यूआर स्क्यान गरी सेवा लिन सक्ने छुट्टै क्युआर स्क्यान कोड उपलब्ध गराएका छौं । 

नेफ्स्कुनले साकोस अभियान केहि वर्ष पछि पेपरलेस र क्यासलेस हुने कुरा उठाइराखेको छ, यो कतिको सम्भव होला ?

नेफ्स्कुनले सफ्टवेयरको कुरा ल्याइराखेको छ । त्यस सफ्टवेयरबाट हामीले फेसबुक खोल जस्तै गरी सिस्टम चलाउन सकिने भन्ने कुरा आएको छ । सबैं संस्थामा एउटै सफ्टवेयर प्रयोगमा ल्याउने विषयमा पनि छलफल भइराखेको छ । त्यो भएमा सबै संस्थाको सर्भर नेफ्स्कुनमा रहन्छ । यदि त्यसलाई प्रयोगमा ल्याउन सके हाम्रो सर्भर कस्ट पनि घट्न जान्छ । अर्कोतर्फ भिन्नभिन्न संस्थाले फरकफरक सिस्टम चलाइराखेका छौं । फरक सिस्टम चलाउँदा रिपोर्टिङ गर्न समस्या हुन्छ र नेफ्स्कुनकै सफ्टवेयर चलाइयो भने रिपोर्टिङमा पनि एकरुपमता आउँछ । त्यसपछि क्लियरिङमा पनि समस्या हुँदैन । एउटा सहकारीको चेक अर्को सहकारीमा साटियो भने सदस्यले जुनसुकै संस्थामा गएर जम्मा गर्न सक्ने भए । यस्तो किसिमको सर्भिस सहकारीमा आवश्यक छ । अहिले १० लाखभन्दा माथिको क्यास ट्रान्ज्याक्सन हुँदैन । साथमा क्यास बोकेर हिँड्न जोखिम पनि छ भने क्यास पनि कतिसम्म बोक्ने भन्ने लिमिटेशन हुन्छ । त्यसकारण नेफ्स्कुनले क्लियरिङ हाउसको भूमिका निर्वाह गर्नुपर्छ भन्ने मलाई लाग्छ ।

सहकारी क्षेत्रको आफ्नै प्रविधिको विकास र प्रयोगका बारेमा सोच्ने बेला भएन र ?

राष्ट्रिय सहकारी महासंघ, सहकारी बैंक, र केन्द्रिय संघहरुले यो विषयमा गहन रुपमा सोच्नु पर्छ । राष्ट्र बैंकका उच्च अधिकारीहरुले सहकारीले सञ्चालन गरेको प्रविधि वैधानिक नभएको कुरा विभिन्न फोरममा उठाइरहेका छन् । सदस्यले डिजिटल सर्भिस मागिसके । यसलाई वैधानिक बनाउनेतर्फ संघहरु लाग्नुपर्ने हो । तर भूमिका कमजोर भएको हो कि भन्ने महशुस भइरहेको छ । 

नयाँ सहकारी ऐन र नियमावलीमा पनि प्रविधिको विषयमा केहि उल्लेख भएको पाईंदैन नि ?

अहिले ऐन संशोधनको कुरा पनि उठिराखेको छ । यो विषय पनि सम्बोधन होला । धेरै संस्थाले प्रविधि प्रयोगमा ल्याइसकेका छन् । सदस्यहरुलाई दिइसकेको सुविधा कटौती गर्नु हुँदैन भन्ने लाग्छ । कसरी वैधानिक गर्ने भन्ने कुरा मात्रै हो । बैंकहरुसँग जोडिएर सेवा दिइराखेकाले कहिँ न कहिँ सम्बोधन त भएको छ नि । अवैधानिक भएको भए उनीहरुले पनि सर्भिस दिँदैन थिए । 

दिनप्रतिदिन नयाँनयाँ प्रविधिहरु आइराखेको सन्दर्भका सहकारी क्षेत्रले कुन र कस्तो प्रविधि प्रयोग गर्ने भन्नेबारेमा पनि सोच्नुपर्ला नि? 


बैंकहरुले पनि भेण्डरबाट खरिद गरेर महँगो सफ्टवेयर प्रयोग गर्छन् । बैंकहरुको पनि आफ्नै सफ्टवेयर छैन । तेश्रो पक्षसँग भर पर्नुपर्ने स्थिति छ । तर बैंकले प्रयोग गर्ने सफ्टवेयर सबै सहकारीले प्रयोग गर्न सक्दैनन् । संस्थाको आकार र लागतले गर्दा सबै सहकारीले प्रयोग गर्न नसक्ने अवस्था छ । निश्चित मापदण्ड बनाएर नेफ्स्कुनले सबै संस्थाले प्रयोग गर्न सक्ने कमन सफ्टवेयर बनायो भने प्रभावकारी हुन्छ । 

संस्थाले २८औं स्थापना दिवस सम्म आइपुग्दा भएका उपलब्धीहरुलाई कसरी लिनुहुन्छ ?

हामी बचतऋण सहकारी संस्था हौं । यस अवधिमा वित्तीय उपलब्धी राम्रै भएको छ । सहकारीको ऐन तथा नियमावली र नीतिविधिलाई नाघेर हामीले काम गरेका छैनौं । २८ वर्ष अगाडि यति ठूलो संस्था बनाउने उद्देश्यले सहकारी खुलेको थिएन । टौखाल गाविसका २ वटा वडाका मानिसहरु मिलेर सहकारीका माध्यमबाट एकअर्कालाई सहयोग गर्ने उद्देश्यले यो खुलेको रहेछ । ३२ हजार ५ सय रुपैयाबाट शुरु भएको संस्थाको वासताल अहिले ३ अर्ब ५० करोड पुगेको छ । संस्थाको कार्यक्षेत्र काठमाण्डौ, ललितपुर, भक्तपुर र काभ्रेपलाञ्चोक गरी ४ जिल्ला रहेको छ । यसबीचमा ८ वटा संस्थासँग एकिकरण गरेका छौं । संस्थामा १ सय कर्मचारी रहेका छन् । सदस्यहरुको आर्थिक अवस्थालाई मजबुत बनाउन संस्थाले धेरै कार्यक्रम सञ्चालन गरेको छ । विभिन्न प्रोजेक्टसँग सहकार्य गरेर संस्थाले काम गर्दै आएको छ । सदस्यहरुको आयस्तर वृद्धि र उद्यमशीलता विकास जस्ता क्षेत्रमा संस्थाले स्थापनाकालदेखि नै काम गर्दै आएको छ । संस्थाले एक्सेस ब्राण्ड प्राप्त गरिसकेको छ । सदस्यको सन्तुष्टि मुल्याङ्कन गर्दा पनि ९० प्रतिशत सदस्य सेवाबाट सन्तुष्ट छन् । सबैको हित हुनेगरी सदस्यको सल्लाह सुझाव लिने र गुनासालाई पनि हामीले सम्बोधन गर्दै आएको छौं ।