शुक्रबार, कार्तिक ७ गते २०८३

प्रविधिकाे प्रयाेग बढाउन सके सहकारीप्रति सदस्यकाे आकर्षण बढ्छ

माघ ११, २०७८ मंगलबार
प्रविधिकाे प्रयाेग बढाउन सके सहकारीप्रति सदस्यकाे आकर्षण बढ्छ

कोभिड १९ ले विश्वलाई नै प्रविधिको प्रयोगतर्फ उन्मुख गराएको छ । महामारीका बीचमा मानिसहरुको दैनिकीलाई सहज तुल्याउन विभिन्न खाले प्रविधिहरु प्रयोगमा आए । भौतिक रुपमा उपस्थित भएर गरिने बैठक, छलफल, सभा जस्ता कार्यक्रम अनलाइनका माध्यमबाट गरिए । त्यसैगरी किताबकलम बोकेर विद्यालय जाने विद्यार्थी पनि अनलाइकामाध्यमबाट घरमै बसेर लेखपढ गर्न थाले । यस बीचमा प्रविधिको प्रयोग व्यापक बन्यो । हरेक क्षेत्रले प्रविधिलाई नअँगाली धरै पाएनन् । वित्तीय क्षेत्रमा त झन् यसको उपयोग अवश्यम्भावी बन्यो । बैंक तथा वित्तीय संस्थाका ग्राहक र सहकारीका सदस्यले पनि प्रविधिको प्रयोग गर्नैपर्ने बाध्यता बन्यो । कुनै समय ढड्डा पल्टाएर चारखातामा सीमित रहेको सहकारी क्षेत्रले यसबीचमा थुप्रै प्रविधिलाई आत्मसात गर्‍यो । हामीले सहकारीमा प्रविधिको प्रयोग: अवसर र चुनौतिका विषयलाई निरन्तर रुपमा समेट्दै जाने प्रयास गरेका छौं यसै क्रममा चाबहिलको चुच्चेपाटीमा रहेको शुभप्रवा साकोसका प्रमुख कार्यकारी निर्देशक फडिन्द्र कुमार खड्कासँग संस्थाले सञ्चालनमा ल्याएको प्रविधि  र यसको प्रयोग सदस्यहरुले कसरी गरिरहेका छन् भन्ने विषयमा संक्षिप्त कुराकानी गरेका छौं । 

 

शुभप्रवा सेभिङले के–कस्ता प्रविधि प्रयोगमा ल्याएको छ ?

अहिले विज्ञान र प्रविधिले चमत्कार गरेको युग हो । सहकारीहरुले पनि प्रविधिमैत्री सेवा सञ्चालन गर्नुको विकल्प छैन । सबै क्षेत्र प्रविधि मैत्री बन्दै गएको अवस्थामा सहकारीले दिने सेवा पनि प्रविधिमैत्री बनाउँदै जाँदा सदस्यहरुको आकर्षण सहकारी संस्थाप्रति बढ्छ । बैंकहरुले दिने एटिएम, क्युआरकोड, मोबाइल बैंकिङ जस्ता सेवा हामीले पनि सदस्यहरुलाई प्रदान गर्दै आएका छौं ।  देशभरका जुनसुकै एटिएमबाट कुनै पनि अतिरिक्त शुल्क नतिरी सदस्यहरुले रकम झिक्न सक्छन् । प्रविधिले जीवनशैलीलाई सजिलो बनाएकाले हामीहरु पनि प्रविधिमैत्री बन्दै गएका छौं । 

एटिएम, क्युआरकोड, मोबाइल बैंकिङ जस्ता सेवा दिएको बताउनुभयो, सदस्यले कुन प्रविधि बढि रुचाएका छन् ?

सबैभन्दा सजिलो र बढि प्रयोग मोबाइल बैंकिङको भएको छ । शुभप्रवाले आफ्नै मोबाइल बैंकिङ एप प्रयोगमा ल्याएको छ । यसको प्रयोगबाट कुनैपनि बैंकमा रकम पठाउन र बैंकबाट सहकारीमा पैसा जम्मा गर्न सकिन्छ । त्यसैगरी शेयरमार्केट, फ्लाइट बुकिङ, रिचार्ज सेवा र सबै प्रकारका युटिलिटी पेमेन्ट गर्न घरमा नै बसी गर्न सकिन्छ । खातामा पैसा छ भने कारोबार गर्न संस्थासम्म धाइरहनु पर्दैन । घरबाटै मोबाइलका माध्यमबाट सबैखाले आर्थिक कारोबार गर्न सकिन्छ । यी सबै हिसाबले सदस्यहरुले मोबाइल बैंकिङलाई बढि रुचाएका छन् । बैंकहरुले ठूलो आइटी टिम बनाएर काम गरिराखेका छन् । सहकारी संस्थामा भने त्यो हुन सकेको छैन । हामीले सदस्यको घरदैलोमा नै गएर पनि मोबाइल बैंकिङ प्रयोगका बारेमा सिकाउँछौं । 

संस्थामा आवद्ध कति सदस्यले डिजिटल प्रविधिको प्रयोग गर्दै आएका छन् ? 

संस्थामा १२ हजारको हाराहारीमा सदस्य छन् । त्यसमध्ये ३ हजार सदस्यले मोबाइल बैंकिङ सेवा प्रयोग गरिरहेका छन् । कुल सदस्यमध्ये झण्डै २० प्रतिशत सदस्य डिजिटल प्रविधिमा जोडिएका छन् । यो बढ्दो क्रममा छ । 

सहकारीमा प्रविधि प्रयोगमा ल्याउन के कस्ता समस्या छन् ?

बैंकहरुले ठूलो म्यानपावर र बजेट छुट्याएर प्रविधि सञ्चालनमा ल्याएका छन् । तर सहकारीहरुको कारोबार त्यति ठूलो हुँदैन । बढिमा पाँच छ अर्बका सहकारी बजारमा छन् । बैंकहरुले खर्बौंको कारोबार गर्ने हुनाले त्यहि अनुसारको जनशक्ति र प्रविधि प्रयोगमा ल्याएका छन् । हामी सहकारीकर्मीले पनि एकलभन्दा पनि सामुहिक रुपमा चुनौति र सम्भावनाका विषयमा छलफल गरेर अगाडि बढ्न सक्दा अझ राम्रो हुन्छ । कतिपटक ह्याकरहरुले सिस्टम ह्याक गर्ने खतरा रहन्छ । प्रविधिमा गइयो तर सुरक्षाको विषयमा ध्यान पुर्‍याउन सकिएन भने भोलिका दिनमा ठूलो दुर्घटना पनि घट्न सक्छ । हामीले सिस्टम ह्याक हुन नसकोस भनेर हिमालयन बैंकसँगको सहकार्यमा विशेष सुरक्षा व्यवस्था मिलाएका छौं । यसले संस्थाको कारोबारलाई सुरक्षित राख्न सहयोग पुगेको छ । 

प्रविधिको कुरा गर्दा सहकारीको आफ्नै प्रविधि प्रयोगमा ल्याउन सके राम्रो हुन्थ्यो होला नि ? कहिलेसम्म बैंक तथा वालेट कम्पनीसँग भरपर्ने ?

तपाईंले उठाउनुभएको विषय यथोचित हो । प्रविधिमा सहकारीहरु पनि धेरै अगाडि बढिसकेका छन् । हामीले हिमालयन बैंकसँग सहकार्य गुर्नको साटो सहकारी बैंक, नेफ्स्कुनसँग सहकार्य गर्न पाएको भए राम्रो हुन्थ्यो । यो विषयमा सहकारी बैंक र नेफ्स्कुनले सोच्नु पर्छ । सहकारीकर्मी र नियामक निकायसँग सहकार्य गर्दैै हाम्रा छाता संगठनहरुले आफ्नै प्रविधि प्रयोग अगाडि बढाउनुपर्छ । एकैपटक हामी आफैंले मात्र गर्न सक्दैनौं । विस्तारै त्यसतर्फ आत्मनिर्भर बन्दै जानुपर्छ । सहकारीमा प्रविधिको प्रयोग चुनौति र अवसर दुवै छ । कुनै समय एटिएम मेशिन राख्न पाउँदा गर्वको विषय हुन्थ्यो । मानिसहरुले आफुलाई जहाँ पायक पर्छ त्यहाँबाट पैसा झिकेर कारोबार गर्थे । अहिले त एटिएम प्रयोग गर्ने कुरा नै पुरानो युगजस्तो भइसक्यो । अहिले नगदबिना नै कारोबार गर्न सकिन्छ । कुनै सपिङ मलमा सामान किन्न जाँदा क्युआर कोड र मोबाइल बैंकिङबाट रकम ट्रान्सफर गर्न मिल्छ । अब एटिएम भन्दा क्युआर कोड र मोबाइल बैंकिङबाट कारोबार गर्न उपयुक्त हुन्छ । भिजिबल क्यास आवश्यक हुन छाड्यो । जुनसुकै ठाउँमा गएपनि एटिएम बिना नै अन्य प्रविधिको प्रयोग गरेर रकम ट्रान्सफर गर्न मिल्छ । सहकारी सर्वसाधारणको तल्लो तहसम्म वित्तीय सेवा दिने संस्था हुन् । क्युआर पेमेन्ट, इसेवा र फोनपे जस्ता संस्थासँग सहकार्य गरेर तल्लो तहका जनतासम्म यो सेवा पुर्‍याउने हो भने वित्तीय सेवाका लागि सहकारी पनि भरपर्दो माध्यम बन्न सक्छ । र मुलुकको समग्र अर्थतन्त्र पनि डिजिटाइज भएर जान्छ ।