बुधबार, भाद्र ३ गते २०८३

क्रिप्टोकरेन्सीले अर्थतन्त्रमा धक्का, राष्ट्र बैंकले भन्योः कारवाही गर्छौं

माघ ११, २०७८ मंगलबार
क्रिप्टोकरेन्सीले अर्थतन्त्रमा धक्का, राष्ट्र बैंकले भन्योः कारवाही गर्छौं

 

नेपाल राष्ट्र बैंकले केहि दिन अघि एक सूचना प्रकाशित गर्दै क्रिप्टो करेन्सीको कारोबार गैरकानुनी भएको पुनः दोहोर्‍याएको छ । मुलुकभित्र क्रिप्टोकरेन्सीसम्बन्धी गतिविधि बढेको सङ्केत फेला परेको भन्दै राष्ट्र ब्याङ्कले यस्ता क्रियाकलाप विरुद्धको कारबाहीलाई थप कडा बनाइने जनाएको हो।

क्रिप्टोकरेन्सीको प्रयोगका साथै विभिन्न प्रकृतिका नेटवर्किङ स्किम र फण्डमा नेपालीहरुलाई लगानी गर्न प्रोत्साहित गर्ने गतिविधि बढेकोप्रति राष्ट्र बैंकले गम्भीर ध्यानाकर्षण भएको जनाएको हो । 

नेपालमा रहेका नेपाली तथा विदेशी साथै विदेशमा रहेका नेपालीले समेत कुनै किसिमको भर्चुअल करेन्सीको कारोबार वा लगानी गर्न नपाइने प्रकाशित सूचनामा जनाइएको छ । 

देशभित्र र विभिन्न देशमा रहेका नेपाली नागरिकलाई प्रलोभनमा पारी क्रिप्टोकरेन्सी र त्यससँग सम्बन्धित स्किमहरुमा ठूलो परिणामको रकम लगानी भइरहेको र त्यसले मुलुकमा भित्रिने रेमिट्यान्समा नै असर पुगेको प्रारम्भिक अनुमान राष्ट्र बैंकका अधिकारीहरुको छ । नेपालीहरुको करिब डेढ खर्ब रुपैयाँ यस्तो मुद्रामा लगानी भएको हुनसक्ने अनुमान गरिएको छ । 

नेपालमा हालसम्म क्रिप्टोकरेन्सी कारोबार र प्रयोगलाई कानुनी मान्यता दिइएको छैन। अहिले चीन, इजिप्ट, इराक, कतार, ओमान, बङ्गलादेशलगायत देशहरूमा क्रिप्टोकरेन्सी पूर्णरुपमा प्रतिबन्धित छ। विश्वका धेरै राष्ट्रमा भने यस्तो कारोबार कानुनी वा गैरकानुनी के हो भन्ने बारे स्पष्ट ब्याख्या गरिएकाे छैन । 

छिमेकी भारतमा पनि क्रिप्टोकरेन्सीको कारोबारबारे स्पष्ट नीति बन्न सकेको छैन । त्यहाँ करिब ६ लाख करोड भारतीय रुपैया क्रिप्टो कारोबारमा गएकाे आँकलन छ । भारतमा ४ वटा क्रिप्टो एक्स्चेञ्ज सञ्चालनमा रहेको बताइन्छ । यति ठूलो रकमको कारोबारमाथि पूर्ण प्रतिबन्ध लगाउने कि नलगाउने भन्ने अन्यौल भारतमा छ । 

कम्प्युटरमा आधारित क्रिप्टोकरेन्सी भर्चूअल मुद्रा भएकाले यसको अस्तित्व अनलाइनमा मात्र सीमित रहन्छ। यसलई अनुगमन गर्ने कुनै पनि केन्द्रिय निकाय रहेको छैन । क्रिप्टो कारोबार गर्दा लेनदेनमा संलग्न व्यक्तिहरुबीच आदानप्रदान भएको जानकारी दुईपक्षबाहेक अन्यलाई जानकारी नहुनु नै यसको विशेषता हो । संसारभरिका कम्प्युटरहरूमा रहेको राखिएको डिजिटल रेकर्डका आधारमा यो सञ्चालन हुन्छ। यस्ता मुद्राको ‘एक्स्चेञ्ज भ्यालु’ बजारले नै तय गर्ने भएकाले ठूलाे परिमाणमा मूल्य घटबढ हुँदा क्रिप्टोकरेन्सीको कारोबार गर्दा सर्वसाधारण ठगिने, अवैधानिक रूपमा रकम बाहिरिने र स्वदेशी पुँजी पलायन हुने जस्ता समस्या रहन्छन् । 

क्रिप्टोकरेन्सीसम्बन्धमा नेपालका कानुनले स्पष्ट व्याख्या गरेको पाईंदैन । अहिले विद्यमान कुनैपनि कानुनले क्रिप्टोकरेन्सीलाई चिन्दैन। कानुनले कारोबार गर्न मिल्ने भनेर कहिँकतै उल्लेख नभएको कारोबार गर्नु गैरकानुनी हुने भएकोले यस्ता कारोबार गर्नेहरुलाई कारवाहीको दायरामा आउने राष्ट्र बैंकको भनाई छ । 

नेपालजस्तो न्यून पुँजी भएको देशबाट क्रिप्टोकरेन्सीमार्फत् पुँजी बाहिरिनेमात्रै नभई विदेशमा रहेका नेपालीले मुलुकमा पठाउन विप्रेषण नै प्रभावित भएपछि बेलैमा सजगता अपनाउन आवश्यक रहेको वित्तीय विषयका विज्ञहरुको भनाई छ ।