शुक्रबार, कार्तिक ७ गते २०८३

सहकारीमा बढ्यो प्रविधिको प्रयोग, महामारीले गर्दा तीब्रता

माघ १०, २०७८ सोमबार
सहकारीमा बढ्यो प्रविधिको प्रयोग, महामारीले गर्दा तीब्रता

 

कोभिड १९ का कारण सहकारी क्षेत्रमा पनि प्रविधिको प्रयोग बढ्दै गएको छ । भौतिक रुपमा उपस्थिति भएर वित्तीय कारोबार गर्दा संक्रमणको जोखिम उच्च रहने र घरबाटै वित्तीय सेवा लिनदिन सहज हुने हुँदा प्रविधिको प्रयोग उल्लेख्य मात्रामा बढेर गएको हो । 

बैंक तथा वित्तीय संस्थाले आधुनिक प्रविधिको प्रयोग लामो समयअघिदेखि नै गर्दै आएका छन् । सहकारी क्षेत्रमा भने कोभिडसँगै प्रविधिको प्रयोग बढ्न थालेको छ । संस्थाहरुले आफ्ना सामथ्र्य अनुसार एटिएम मेशिन जडान देखि मोबाइल बैंकिङ, क्यू आर कोड र अन्य विविध प्रकारका डिजिटल प्लाटफर्मको प्रयोगलाई बढावा दिएका छन् । 

पाँचतारा साकोसकी व्यवस्थापक राधा कडरिया कोभिड १९ ले प्रविधिको प्रयोगलाई वृद्धि गरेको बताउँछिन् । संस्थाले केहि समय अघिदेखि एटिएम मेशिनमार्फत सदस्यहरुलाई सेवा दिने लक्ष्य राखेको भएपनि कोभिड १९ का कारण नै एटिएम मेशिन प्रयोगमा ल्याइएको उनले जनाइन् । कोभिडले गर्दा भौतिक रुपमा कार्यालयमा उपस्थित भएर कारोबार गर्दा जोखिम रहेकाले संस्थाले सदस्यहरुलाई सहज रुपमा वित्तीय सेवा उपलब्ध गराउन एटिएम सेवा जडान गरेको कडरियाले बताइन् । 

“एटिएम जडान पछि संस्थामा हुने भीडभाड धेरै मात्रामा कम भएको । एटिएम नहुँदा ससानो रकम झिक्न पनि सदस्यहरु काउण्टरमा नै आउनुपथ्र्यो”, उनले थपिन्, “अहिले एटिएमले गर्दा धेरै सदस्यहरु काउण्टरसम्म आउनुहुन्न ।” संस्थाले एक दिनमा ५० हजार रुपैयासम्म एटिएमबाट झिक्न सक्ने सुविधा सदस्यलाई दिएको छ । हालका दिनमा दैनिक एक लाख पचासहजार देखि २ लाख सम्म एटिएमबाटै रकम निकालिने गरेको उनले जनाइन् । एटिएम मेशिन सञ्चालनमा ल्याउन खर्चिलो भएपनि यसबाट सदस्यहरुलाई सहज सेवा प्राप्त गरेको उनले जनाइन् । 

त्यसैगरी पाँचताराले मोबाइल बैंकिङ सेवा पनि यस अघिनै प्रयोगमा ल्याइसकेको छ । मोबाइल एपको प्रयोग गरेर सदस्यहरुले आफ्नो खातामा भएको रकम मौज्दात हेर्ने, विभिन्न बैंक खातामा ट्रान्सफर गर्ने तथा युटिलिटी पेमेन्ट जस्ता सुविधा लिन सक्छन् । सदस्यहरुले पैसा राख्दा र झिक्दा समेत त्यसको सन्देश जाने हुँदा धेरै सदस्यहरु यसतर्फ आकर्षित भएको संस्थाले जनाएको छ । धेरै भन्दा धेरै सदस्यहरुलाई प्रविधिको प्रयोगबारे प्रशिक्षत गर्ने संस्थाको योजना छ । कोभिडका कारण हाललाई उक्त योजना रोकिएको भएपनि अवस्था सहज भएसँगै सदस्यहरुलाई प्रविधिको प्रयोगको बारेमा सिकाउने योजना रहेको उनले बताइन् । 

संस्थाबाट धेरै जना सदस्यले एटिएम कार्ड लिएको भएपनि नियमित रुपमा २५० सदस्यले कार्डको प्रयोग गर्दै आएका छन् । संस्थाका अनुसार ७५ वर्ष माथिका ज्येष्ठ सदस्यले पनि आफुलाई आवश्यक पर्ने दुईपाँचसय रकम दैनिक झिक्ने गरेका छन् ।